Logo

संसदीय टोली र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोली ओमानमा



काठमाडौं, २३ फागुन । संघीय संसद प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोलीले घरेलु कामदारको रूपमा ओमान लगायतका खाडी मुलुकः ओमान, साउदी अरब र यू.ए.ई. मा रहेका घरेलु कादारहरूको विद्यमान अवस्था, समस्या तथा समाधानको लागि चालिनु पर्ने कदमका विषयमा स्थलगत अवलोकन गर्ने समितिको निर्णय अनुसार यही मिति २०७६ फाल्गुन १७-२८ सम्म अनुगमन गर्ने क्रममा १७,१८ र १९ गते ओमानको भ्रमण गरेको छ।

उक्त अवसरमा माननीय सभापतिज्यूको नेतृत्वमा भ्रमण दलले ‌ओमानको शुरा काउन्सिल (प्रतिनिधि सभा) का अध्यक्ष माननीय खालिद विन हिलाल अल मावली र स्टेट काउन्सिल (राष्ट्रिय सभा) का अध्यक्ष माननीय श्री याह्‌या विन महफौद अल मन्थरीसँग बेग्ला-बेग्लै द्विपक्षीय भेटघाघ गर्यो।उक्त भेटघाटमा माननीयज्यूहरूबीच संसदको संरचना, संसदीय व्यवस्था, प्रतिनिधित्व तथा संसदमा मौजुद समितिहरूबारे छलफल भयो।

साथै, दुवै सदनको गरिमा, भूमिका तथा कानुन बन्ने प्रक्रियाबारे समेत माननीयज्यूहरूबीच छलफल भएको थियो।दुवै सदनका अध्यक्षज्यूहरूले यसरी भ्रमण दलको आदान-प्रदान गर्दा एक अर्काका राम्रा प्रयासहरू सिक्ने अवसर मिल्ने हुनाले भ्रमणको उच्च महत्व रहेको दर्शाउँदै ओमानको संसदको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो भने माननीय सभापतिज्यूले अध्यक्षद्वयलाई अनुकुल समय पारेर नेपालको भ्रमण गर्न संघीय संसद प्रतिनिधि सभाका माननीय सभामुख तथा राष्ट्रिय सभा अध्यक्षको सन्देश दिए।

त्यसैगरी माननीयज्यूलहरूले यहाँको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खालिफा विन अलि अल हार्थी तथा परराष्ट्र मन्त्रालयका अन्य उच्च-पदस्थ पदाधिकारीहरू तथा जनशक्ति मन्त्रालयका सचिव महामहिम श्री हमाद विन खामिस विन अब्दुल्लाह अल आम्रीलाई वहाँहरूको कार्यकक्षमा बेग्ला-बेग्लै द्विपक्षीय भेटघाट गर्नुभयो।उक्त अवसरमा माननीयज्यूहरूले ओमानको श्रम सम्बन्धी विद्यमान कानुनी व्यवस्था, नेपाली कामदारहरूको बारेमा सरकारको बुझाई तथा कामदारको हकहितका सम्बन्धमा जिज्ञासा राख्नुभयो।

भ्रमणको दोस्रो दिन बिहान नेपाली दूतावासमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाली दूतावासकी श्रम सहचारी श्री कृष्णा कुमारी गौलीले प्रस्तुत गर्नु भएको नेपाली श्रमिक तथा घरेलु कामदार सम्बन्धी आधिकारिक तथ्यांक सहितको प्रस्तुतिकरणमा माननीयज्यूहरू सहभागी भई दूतावासको सेल्टरमा बसेका दिदि बहिनीहरूसँग पनि अन्तरक्रिया गर्नु भएको थियो।

सोही दिन माननीयज्यूहरूले ओमानको मानव अधिकार आयोगका अध्यक्ष माननीय शेख अब्दुल्लाह विन शुवैन अल होस्नीसँग भेटवार्ता गरी श्रमिकहरूको मानव अधिकारको सम्बन्धमा ओमान सरकार तथा ओमान मानव अधिकार आयोगले गर्ने गरेका कार्यहरूकोबारे जानकारी लिनु भयो भने नेपालको राष्ट्रिय मानव अधिकार आयोगको काम कारवाही तथा प्रयासहरूबारे जानकारी आदान-प्रदान गर्नुभयो।

उक्त अवसरमा राष्ट्रिय मानव अधिकार आयोग नेपालका आयुक्त माननीय श्री सुदीप पाठकले नेपालको मानव अधिकार आयोगले अन्तराष्ट्रिय मानव अधिकार आयोग तथा विभिन्न देशका मानव अधिकार आयोगसँग गरेको सहकार्यको बारेमा जानकारी दिंदै ओमानको मानव अधिकार आयोगसँग पनि सहकार्यको लागि MoU गर्न प्रस्ताव गर्नुभयो।

तत् पश्चात समितिले नेपालीहरू कार्यरत एक कम्पनी, अल-नाबाको भ्रमण गरेर त्यहाँ काम गर्ने नेपालीको बस्तुस्थितिको जानकारी लिए । माननीय सदस्यज्यूहरूले मिति 2076/11/17 गते साँझ नेपाली दूतावासको आयोजनामा भएको “ओमानमा रहेका घरेलु तथा अन्य नेपाली कामदारहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम” मा सहभागिता जनाई ओमानमा रहेका श्रमिक तथा घरेलु कामदारका वास्तविक समस्या श्रमिकहरूबाटै सुन्नुभयो भने घरेलु कामदारको विषयमा विभिन्न जिज्ञासाहरूसमेत राख्नुभएको थियो। भ्रमण टोलीमा देहायबमोजिमका माननीयज्यूहरू र कर्मचारीहरूको सहभागिता रहेको छ।

भ्रमण दलमा सांसदहरु विमल प्रसाद श्रीवास्तव, भिमसेनदास प्रधान​ , गोपाल बहादुर बम, दुर्गा कुमारी विश्वकर्मा​ ​सदस्य, प्रमोद शाह​​ ​सदस्य र सूर्य नारायण यादव ‘सूरज’ ​रहेका छन् । त्यस्तै, सुदिप पाठक​​ ​सदस्य,  शिवदत्त बराल​ ​उपसचिव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, केशवराज सुवेदी​ ​​उपसचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  रविलाल नेपाली ​ ​​अधिकृत, राष्ट्रिय मानव अधिकार आयोग पनि सहभागी भएका छन् ।

उक्त द्विपक्षीय बैठक तथा भ्रमणहरूमा ओमानकी राजदूत सर्मिला पराजुली ढकाल, उनको श्रीमान बिमल ढकाल तथा दूतावासका अन्य कर्मचारीहरू समेत साथैरहेको पनि दुतावासले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्