काठमाडौं, २३ फागुन । नेपाल प्रहरीको प्राविधिकतर्फको एआइजी बढुवामा सधै वरिष्ठतालाई ख्यालमा राखिन्थ्यो । तर, यसपटक डा। आशा सिंहले बाजी मारिन् । डिआइजी वरियतामा आफूभन्दा माथि रहेकालाई उछिन्दै बढुवा भइन् । त्यसबारे लोकसेवा आयोगसम्म उजुरी पुग्यो । तर, आशाले नै फुली थपिन् ।
यसप्रति डिआइजीहरु असन्तुष्ट भए । असन्तुष्टिको कारण व्याप्त भयो । प्राविधिकतर्फ एकजना मात्र एआइजी रह्यो । सञ्चार र कम्प्युटरतर्फ डिआइजीको मात्र दरबन्दी रह्यो । एआइजीको दरबन्दी हुनुपर्ने पक्षमा थिए राजीव । दरबन्दी राखिएन । वर्षौं देखि डिआइजीमै रहेर घरबिदा हुनुपर्ने अवस्था बन्यो । त्यसकारण डिआइजी डा।राजीव सुब्बाले राजीनामा दिए । उनले आजै प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली समक्ष राजीनामा बुझाएका छन् ।
डा। सुब्बा प्राविधिकतर्फ दरबन्दी आवश्यक अनुसार नभएको भन्दै असन्तुष्ट भएका हुन् । उनी पछिल्लो पटक भएको बढुवामा असन्तुष्ट भएकामा पर्छन् । उनले राजीनामा दिएपनि स्वीकृति भइसकेको छैन । मन्त्रिपरिषद्ले यसको निर्णय लिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा रहेकाले मन्त्रिपरिषद बस्न केही समय लाग्छ र उनको राजीनामाको टुंगो लाग्छ । तर, प्रहरीभित्रको असन्तुष्टि सुब्बाको राजीनामाले बाहिर ल्याएको छ ।