Logo

‘अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’



काठमाडौँ, २५ फागुन । स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको उत्तर सहज छैन किनकी नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर भेट्टाउन सकेका छैनन् ।

त्यसैले बजारमा फैलिएको हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था नरहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को विश्वव्यापी मापदण्डलाई नेपालले परिपालना गर्नै पर्ने हुन्छ । हुन त सार्वभौम मुलुक नेपालका लागि यो बाध्यकारी व्यवस्था भने हैन । नेपालले आफ्नो आवश्यकताका आधारमा निर्णय लिन सक्छ तर पनि मानवीय संवेदनशीलता र विश्वव्यापी परिस्थतिलाई मध्यनजर गरी हतारमा उडान रोक्न पनि उपयुक्त नहुने नियामक निकायको भनाइ छ ।

नेपालको सन्दर्भमा सर्वोच्च अदालतले पनि आवश्यकता परेको खण्डमा अन्तरराष्ट्रिय उडान रोक्न अन्तरिम आदेश दिइसकेको छ । यो विषयमा सरकारले निर्णय गरेपछि मात्र नियामक प्राधिकरणले कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यसो भए कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी प्राधिकरण अन्तरराष्ट्रिय उडान रोक्ने अवस्थामा पुगेको हो त भनी सोधिएको रासससँगको जिज्ञासामा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था नरहेको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्