Logo

कोरोना : चिनमा घट्यो, विश्वभर फैलिदै



फागुन २७, काठमाण्डौ । चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ । पछिल्ला दिनमा चिनमा संक्रमणदर घट्दै गए पनि अन्य देशमा भने फैलिइरहेको छ । चिनपछि सबैभन्दा बढि संक्रमण इटालीमा देखिएको छ । अहिलेसम्म संक्रमितमध्ये ६ प्रतिशतको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनका कारण मृतकको संख्या ४ हजार २८ पुगेको छ । भाइरसबाट एक लाख १४ हजार पाँच सय २८ जना संक्रमित छन् । संक्रमितमध्ये ५ हजार सात सय जनाको अवस्था गम्भीर छ । करिब ६५ हजार संक्रमित भने निको भएर घर फर्किएका छन् । त्यसैगरी करिब ४१ हजारको अवस्था भने सामान्य रहेको छ ।

अहिलेसम्मको तथ्याङ्क हेर्दा संक्रमितमध्य ६ प्रतिशतको मृत्यु भएको पाइन्छ । गत डिसेम्बरमा चीनको बुहान प्रान्तमा देखिएको यसको संक्रमण सयभन्दा बढी देशमा देखिसकेको छ । पछिल्लो नतिजा अनुसार चीनबाहिर इटालीमा कोरोना संक्रमणका बिरामी धेरै देखिएका छन् । इटालीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ । संक्रमितको संख्या एकै दिन २५ प्रतिशतले बढ ९ हजार पुगेको छ । इटाली सरकारले कोरोना फैलिन नदिन यात्राको लागि विशेष अनुमति लिनुपर्ने नियम लगाएको छ ।

देशभर स्कुल, जिम सेन्टर, संग्रहालय, नाइट क्लब तथा मानिस जम्मा हुने अन्य स्थान बन्द गर्ने घोषणा गरिएको छ । इटलीका सेना प्रमुख साल्वातोर फारिनीलाई समेत कोरोना संक्रमण भएको छ । उनी सेल्फ क्वारेन्टाइनमा रहेका छन् । इरानमा पनि भाइरस तीब्र गतिमा फैलिना २ सय ३७ जनाको मृत्यु भइसकेको छ भने सात हजारभन्दा बढिमा संक्रमण भएको छ ।

फ्रान्स र स्पेनमा ३०–३० जनाको निधन भइसकेको छ । फ्रान्समा सांसद पनि कोरोना संक्रमणमा परेका छन् । आइतबारसम्म चार जना सांसदमा कोरोना संक्रमण देखिएको छ । अमेरिकामा २७ जनाको मृत्य भएको छ भने जापानमा १० जनाले ज्यान गुमाएका छन् । यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल वुहान पुगेका थिए ।

चिनफिङले त्यहाँ पुगेर स्वास्थ्यकमीहरुसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । चीनमा संक्रमित र मृतक संख्या कम हुँदै गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान जनाएअनुसार पछिल्लो २४ घण्टामा देशैभर मात्र १९ जनामा कोरोना संक्रमण देखिएको छ भने मात्र १७ जनाको मृत्यु भएको छ । कोरोना प्रकोपका कारण विश्वभर विविध कार्यक्रम स्थगित गरिएका छन् । विभिन्न देशमा खेलकुद र सांस्कृतिक कार्यक्रम पनि रोकिएका छन् ।

इन्डियन वेल्स टेनिस टुर्नामेन्ट, साउदी खेलकुदलगायतका खेल गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएका हुन् । चर्चित कोरियाली सांस्कृति समूह के–पपको जापान यात्रा पनि हाललाई रोकिएको छ । युरोपेली संसद्ले यसै साताका लागि तय गरिएको विस्तारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको छ । कैयौं देशले कोरोना प्रभावित राष्ट्रका नागरिकलाई प्रवेशमा रोक लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot