काठमाडौं, २८ फागुन । कोरोना भाईरस (कोभिड–१९) बारे छलफल गर्नको लागि सरकारले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त बैठकको अध्यक्षता गरेका छन् ।
बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुलाई बोलाईएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र सांसद गगन कुमार थापा सहभागी छन् । राजपा नेपालबाट महन्थ ठाकुर, राजेन्द्र महतो र राजकिशोरा यादव सहभागी छन् भने समाजवादी पार्टीबाट शीर्ष नेता तथा सांसद राजेन्द्र श्रेष्ठ सहभागी छन् । उता, नेमकिपाबाट सांसद प्रेम सुवाल सहभागी भएका छन् ।
मन्त्री पोखरेलको नेतृत्वमा नै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्चस्तरीय समिति समेत गठन गरेको छ । समितिको अहिलेसम्म दुई पटक बैठक बसिसकेको छ ।