Logo

‘राजसंस्था’ को एजेन्डा किन बलियो बन्दैछ



राजनीतिक विश्लेषण, २८ फागुन । भगवत् गीतामा छोएर कमल थापाले कसम खाए कि अब राष्ट्रिय प्रजातन्त्र पार्टी फुट्ने छैन । उनले गीतामा छोएर कसम खाँदै गर्दा पशुपति शमशेर राणालाई संवैधानिक राजसंस्थाको एजेन्डा मान्ने अवस्थामा पुर्याए । राणाले यो एजेन्डा मान्नुले नेपाली राजनीतिमा दुरगामी असर पार्ने अवस्था बन्न सक्छ ।

पशुपति शमशेर राणाको दल खासै शक्तिशाली नभएपनि उनी व्यक्तिगत रुपमा निकै बलिया छन् । विशेषगरी दक्षिणी मुलुक भारतको राजनीतिमा प्रभाव राख्ने नेताहरुसँग उनको पारिवारिक सम्बन्ध छ । कँग्रेस आईका वरिष्ठ नेता डा. करण सिंह फुफाजु हुन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीकी उपाध्यक्ष बसुन्धरा राजे सिन्धिया पशुपति शमशेर राणाकी साली हुन् । यसकारण पनि राणाको बाह्य सम्बन्ध निकै मजबुत छ ।

 

राणाको कमल थापासँगको मिलनभन्दा पनि उनले स्वीकारको राजनीतिक एजेन्डा महत्वपूर्ण मान्नुपर्छ । यही एजेन्डाले अहिले काँग्रेसभित्र पनि बहसको बलियो स्थान बनाइसकेको छ । हिन्दु राष्ट्र र राजसंस्थाबारे पुर्नविचार गर्नुपर्नेमा महामन्त्री डा. सशांक कोइरालाले धेरै पहिले देखि बोलिसकेका छन् । पछिल्लो समय कोइरालाको भारत यात्रा उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । उनले एक महिनाको अन्तरालमा लखनऊ र बनारसको कार्यक्रममा सहभागिता जनाए । यो कार्यक्रम आयोजना गर्नेहरुमा भारतको सत्तारुढ भाजपा निकटहरु नै थिए । कोइरालाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग महत्वपूर्ण भेटवार्ता समेत गरे । योगीले मुख्यमन्त्री हुनुअघि पशुपतिनाथको कार्यक्रममा सहभागी भएर हिन्दु राष्ट्र र राजसंस्थाका बारेमा बोलेर गएका थिए ।

घटनाक्रम यसरी विकास हुँदैछ कि धर्म र राजसंस्थको एजेन्डाले नेपाली राजनीतिमा पुनः बलियो स्थान बनाउँदै गएको छ । व्यक्ति व्यक्तिमा चलेको राजसंस्थाको चर्चाले संगठित रुपमा बलियो एजेन्डा बन्ने अवस्था बन्यो भने गणतन्त्रका पक्षधरहरुका लागि चुनौती बन्न सक्छ । यसकै संकेत पाएर सत्तारुढ दलका नेताहरु प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई कडा चेतावनी दिदै सक्रिय नहुन भनेका थिए । केही महिना पहिले सत्तारुढ दलका नेताहरुले पूर्व राजा शाहलाई चुप लागेर बस्न समेत चेतावनी दिन पुगेका थिए ।

शाहले पछिल्लो समय दुईपटक भारत भ्रमण गरे । एकपटक झापा हुँदै सिक्किमको यात्रा गरे । अर्कोपटक उनी सिधै दिल्ली पुगेर धार्मिक यात्रा गरे । यो यात्रापछि राप्रपाको एकीकरण संयोग मात्र होइन भन्नेहरु धेरै छन् । काँग्रेसभित्र राजसंस्थाप्रति सद्भाव राख्ने नेताहरुको भाजपा नेताहरुसँगको बाक्लो भेटघाट र हालै भएको राप्रपाको एकताले पूर्व राजालाई हौस्याएको छ । यसले केही राजनीतिक विषयमा पुर्नविचार गर्नुपर्छ भन्ने पक्षधरलाई संगठित मात्र बनाएको छैन राजनीतिक एजेन्डा बलियो बनाउँदै लगेको छ । तर, यो एजेन्डा सफल बनाउन सहज भने छैन ।

कठिन चुनौती
गणतन्त्र घोषणापछिको ११ वर्ष बितिसक्दा धेरैका लागि राजसंस्था इतिहास बनिसकेको छ । देशमा संघीयतासहितको गणतन्त्रात्मक व्यवस्थाको अभ्यास भइसकेको छ । त्यसैले परिवर्तन उल्टँदैन भन्ने दाबी नभएको होइन । भइसकेको परिवर्तन उल्टाउन सजिलो भने छैन । त्यसमाथि पूर्व राजा ज्ञानेन्द्र शाह लोकप्रीय छैनन् । उनका छोरा पारस झनै अलोकप्रीय छन् । बुहारी हिमानी शाहप्रति भने सहानुभूती देखिन्छ । यो व्यक्तिगत सवाल भयो । तर, मुख्य विषय राजनीतिक एजेन्डा नै हो ।

राजसंस्था पुर्नस्थापित हुन मुख्य राजनीतिक दलहरुले यसलाई एजेन्डा बनाउन जरुरी हुन्छ । दुई तिहाईको बहुमतबाट संविधान संशोधन गराउन सक्नुपर्छ । कम्तिमा पनि नेपाल कम्युनिस्ट पार्टी या नेपाली काँग्रेस मध्ये एउटा दलले एजेन्डा बनाउनुपर्छ । त्यसमा पनि ती दलहरुलाई अन्य शक्तिको समर्थन जरुरी हुन्छ । नेकपाले यो एजेन्डा बोक्ने सम्भावना देखिदैन । काँग्रेसभित्र सम्भावना भएपनि सजिलो छैन । काँग्रेसले एजेन्डा उठाएर ऊलगायत समर्थक दलहरुको दुई तिहाई सिटबाट मात्र संविधान संशोधन गरी संवैधानिक राजसंस्था आउन सम्भव छ ।

सम्भावना
१२ वर्षमा खोला फर्किन्छ भन्ने उदाहरण नेपाली समाजमा प्रचलित छ । गणतन्त्र घोषणाको १२ वर्ष पूरा हुँदैछ । यसबीच जनताले जे अपेक्षा गरेका थिए त्यो पूरा हुन सकेको छैन । जनतामा असन्तुष्टि व्याप्त छ । राजनीतिक दलका नेताहरु भ्रष्टाचारमा डुबेको सप्रमाण सार्वजनिक भइरहेका छन् । यसले नेता विशेषमात्र नभई व्यवस्था नै बदनाम बनाइँदैछ । यो गणतन्त्रका लागि सुखद होइन । जनतामा व्याप्त असन्तुष्टिबाट गणतन्त्र विरोधी पक्षधरले लाभ लिनसक्छन् । यस्तो अवस्थामा व्यवस्था उल्टन सक्छ । आखिर राजनीति न हो सम्भावना नै सम्भावनाको खेल हुन्छ ।-Cover Photo Credit: AP



प्रतिक्रिया दिनुहोस्

Screenshot