काठमाडौँ, २९ फागुन । उमेर नपुगी बिहे गर्दा कानुन लाग्छ। उमेर पुगेको प्रमाण थाहा पाउने कसरी ? त्रियुगा नगरपालिकामा अभियान चलाइएको छ– निमन्त्रणा कार्डमै उमेर खुलाउने। त्रियुगा–१२ त्रिवेणी टोलकी २५ वर्षीया साजना चौधरीको विवाहको कार्ड उमेर खुलाएर छापिएको छ। उनको विवाह त्रिनपा–१३ वहेडवाका २५ वर्षीय मनोज चौधरीसँग हुँदैछ।
त्यस्तै, त्रिनपा–४ वगाहाकी सिर्जना कार्की र प्रकाश बस्नेतका अभिभावकले पनि जन्ममिति खुलाएर कार्ड छापे। दुवैको जन्ममिति कार्डको माथिल्लो भागमा छापिएको छ। गाईघाटका अफसेट प्रेसमा छाप्न ल्याइएका विवाह कार्डमा उमेर खुलाइएको छ। जन्मदर्ताअनुसार मिति मिले–नमिलेको हेरेर मात्र कार्ड छापिने गरेको लक्ष्मी अफसेट प्रेसका सञ्चालक सुनील महतोले जानकारी दिए। जन्मदर्ताबिना छाप्न आएकालाई फर्काउने गरेको उनले बताए। उनले भने, ‘धेरैजसो जन्मदर्ताबेगर आउँछन्, लिएर आए मात्रै छाप्छौं भनेपछि कोही नछापीकनै फर्कने गरेका छन्।’
जन्मदर्ताबेगर आएका कार्ड नछापीकनै फर्काइने गरेको कार्की छापाखानाका सञ्चालक हिमाल कार्की बताउँछन्। जिल्लामा बालविवाह नरोकिएपछि सरकारी र गैरसरकारी निकायले विवाहको कार्डमै उमेर खुलाउन अभियान चलाएका छन्। अभियानमा छापाखाना र परिवार राजी भएका छन्। सामाजिक अभियन्ता महेश्वरी राईले भनिन्, ‘विवाह हुन लागेका दुवै जना बालबालिकाभित्र पर्दैनन् भन्नका लागि कार्डमै जन्ममिति लेखिएको हो।’ बालविवाह नरोकिएपछि अभियानलाई परिवर्तन गरिएको बाल हेल्पलाइन १०९८ का संयोजक शिरोमणि खतिवडा बताउँछन्। उनले भने, ‘लुकिछिपी उमेर ढाँटेर गरिने बालविवाहको क्रम बढेकाले त्यसलाई निरुत्साहन गर्न कार्डमा उमेर खुलाइएको हो।’
कानुनविपरीत विवाह गराउने व्यक्तिसमेत कारबाहीमा पर्ने भएकाले कार्डमा जन्ममिति खुलाउने अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले जानकारी दिए।जिल्लामा बर्सेनि सरदर ६० जोडीको बालविवाह हुने गरेको छ। तीमध्ये आधा मात्रै प्रहरीकहाँ पुग्छन्। अभिभावकको मौन स्वीकृतिमा विवाह हुने गरेको अभियन्ता खतिवडाले बताए। नेपालको कानुनमा बालविवाहलाई दण्डनीय अपराधका रूपमा लिइएको छ। अभियान सञ्चालन गरिए पनि बालविवाह नरोकिएको त्रियुगा नगरपालिका–८ की वडासदस्य कमला कटुवालले बताइन्। (अन्नपूर्ण पोष्ट्बाट)