काठमाडौँ, ३० फागुन । रमेशचन्द ठकुरी प्रहरी महानिरीक्षक हुँदा १ नम्वर गणको गणपतिमा एसपी कमल जिटी थिए । ठकुरीका विश्वास पात्र अधिकृत थिए जिटी । आइजिपी जो हुन्छन् उनले आफू नजिकको व्यक्तिलाई १ नम्वर गणको एसपी बनाउने गर्दछन् ।
ठकुरीका पालामा गणपति बनेका जिटीले गणमा तालिम गरिरहेका तालिमेहरुलाई थानकोटमा फाइरिङ्ग सिकाउन लैजाने क्रममा आफ्नै श्रीमतीलाई प्रहरीको ड्रेस लगाएर फाइरिङ्ग गराएको घटना सार्वजनिक भएको थियो । त्यतिबेला निकै चर्चामा आए पनि आइजिपीको कृपा र दयाले उनी माथि कुनै छानविन र कार्वाही भएन ।
अहिले त्यस्तै घटना भरतपुरस्थित जुनियर तालिम शिक्षालयका प्रहरी निरीक्षकले गरेका छन् । त्यो आँट गर्ने निरीक्षक हुन– किरण रावत । उक्त शिक्षालयमा तालिम गरिरहेका असईहरुको फाईरिङ्ग सिकाउने क्रममा निरीक्षक रावतले आफ्नी प्रेमिकालाई फाइरिङ्ग गराएको घटना सार्वजनिक भएसँगै छानविन भएको छ । (जनप्रहार साप्ताहिकबाट)