काठमाडौँ, २ चैत । उदयपुरको सदरमुकाम गाईघाटसँगै जोडिएको त्रियुगा नगरपालिका– ११, चप्पन बरुवाधारका बासिन्दाले एक गाग्रो पानी पाउन चार दिन पर्खनुपर्छ । गाउँदेखि झण्डै छ किलोमिटर टाढा रहेको चिसापानी पाखाको मुहान सुक्दै गएपछि बरुवाधारवासी यो समस्या भोग्न बाध्य भएका हुन् ।
‘मुहानमै पानी सुक्दै गएपछि हिजोआज धारामा पानी भर्न चार दिनमा मात्रै पालो आउँछ, महिनाभरमा एउटा परिवारले चार–पाँच गाग्रोभन्दा बढी पानी पाउँदैनन्’– स्थानीय ईश्वरीप्रसाद खतिवडाले बताए । मुहान नै सुक्दै गएपछि झण्डै २० वर्षअघि निर्माण गरिएको यो खानेपानी योजनाका धारामा पानी झर्न छोडेको हो । तर त्यसको विकल्पमा सम्बन्धित निकायले अहिलेसम्म चासो नदिँदा स्थानीयवासी चिन्तित हुँदै गएका छन् । मुहानमै पानी कम भएपछि रातभरि ट्याङ्कीमा जम्मा भएको पानी आलोपालो गरी वितरण गरिँदै आएको छ ।
बरुवा र चप्पन खोलाको बीचमा रहेको बरुवाधार गाउँका ५५ घरपरिवार छन् । खानेपानी योजनाका धारामा पानी आउन छाडेपछि गाउँले बरुवा र चप्पन खोलाको दूषित पानी पिउनुपर्ने बाध्यतामा छन् । नजिकैका गाउँमा त्रियुगा नगरपालिकाले ठूलो पम्पबाट पानी तानेर वितरण गरेको छ तर बरुवाधारमा भने नयाँ योजना निर्माण भएको छैन । चुनावका बेला खानेपानी ल्याइदिने आश्वासन आए पनि काम हुन नसकेको स्थानीय दिलकुमार राईले बताए । ‘चुनावपछि न त नेता आउँछन्, न त योजना नै’– राईले बताए ।
पानीको मुहान बस्तीभन्दा तल भएकाले चप्पन बरुवाधार गाउँमा खानेपानी व्यवस्था गर्न कठिन र खर्चिलो छ । प्रदेश सरकारको १० लाख रुपियाँ बजेटबाट खानेपानीको योजना कार्यान्वयन हुने क्रममा रहेको त्रियुगा नगरपालिका वडा नं ११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताएका छन् । रकम थोरै भएकाले योजना सम्पन्न हुने कुरामा भने स्थानीयवासी विश्वस्त छैनन् । यो रकमबाट बरुवाधारमा कसरी खानेपानी पु¥याउन सकिन्छ भनेर ईष्टिमेट गर्ने काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गाईघाटका प्रमुख इन्जिनियर सत्यनारायण साहले बताए । (गोरखापत्र दैनिकबाट)