Logo

चीनमा जनजीवन सामान्य बन्दै



बेइजिङ, चैत ३ ।कोरोना भाइरसको केन्द्रविन्दु रहेको चीनमा पछिल्लो समय संक्रमण घटेको छ। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार चीनमा शनिबार २० जना मात्रै नयाँ संक्रमित देखिएका छन् भने संक्रमणबाट १० जनाको ज्यान गएको छ।

केही दिनअघिसम्म दैनिक हजार जनामा संक्रमण देखिने गरेको थियो। पछिल्लो समय विदेशबाट आउने नागरिक र वुहान क्षेत्रमा मात्रै संक्रमण देखिएको छ। कोरोना संक्रमण दर घटेसँगै विभिन्न सहरमा गरिएको ‘लक डाउन’ हटाइएको छ भने कार्यालय पनि खुल्न थालेका छन्।

कोरोनाको प्रभाव फैलिएपछि बन्द गरिएका देशभरका एक हजार एक सय १९ दू्रतमार्गका मुख्य नाकामध्ये दुईबाहेक सबै खुलिसकेका छन्। बन्द गरिएका सयवटा बजार पनि खुलिसकेका छन्। १२ हजार २८ मध्ये ११ हजार एक सय ९८ स्वास्थ्य जाँच गर्ने स्थान र क्वारेन्टाइन पनि हटाइएको छ।

बीबीसीका अनुसार चीनमा कोरोना संक्रमणबाट तीन हजार एक सय ९९ सयको ज्यान गएको छ। यहाँ ८० हजार आठ सय ४४ जनामा कोरोना संक्रमण देखिएकोमा ६६ हजार नौ सय ११ उपचारपछि सन्चो भएर घर फर्किसकेका छन्।



प्रतिक्रिया दिनुहोस्