Logo

कोरोनाविरुद्ध लड्न सार्क मुलुक एकजुट



काठमाडौं, ३ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लड्न दक्षिण एसियाली राष्ट्र (सार्क) एकजुट भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली राष्ट्रको साझा रणनीतिक योजना बनाउन गरेको प्र्रस्तावमा भएको भिडियो कन्फरेन्समा आठ मुलुक सहभागी भएका थिए ।

कन्फरेन्समा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान र अफगानिस्तानका राष्ट्रप्रमुख र प्रधानमन्त्री सहभागी थिए भने पाकिस्तानले भने स्वास्थ्यमन्त्रीलाई सहभागी गराएको थियो । कन्फरेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध जुध्न आपतकालीन कोषको प्रस्ताव गर्दै सार्क राष्ट्रको आपतकालीन कोषमा १ करोड रुपैयाँ अमेरिकी डलर दिने घोषणा गरे । मोदीले गम्भीर समस्या भोगिरहेकामा सार्क राष्ट्रहरू सहमत भएको र सबैले सँगै मिलेर काम गर्न जरुरी भएको उल्लेख गरे । मोदीले गरेको प्रस्तावमा सबै राष्ट्रले ऐक्यबद्धता जनाएका छन् ।

मोदीको प्रस्तावमा भएको सो कन्फरेन्समा सार्कलाई सक्रिय बनाउने विषयमा सात मुलुकले चासो देखाएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध लड्न नेपाल सतर्क अवस्थामा रहेको बताए । प्रधानमन्त्री ओलीले यो महामारीको कुनै क्षेत्रीय र राजनीतिक सीमा नभएको र सबैको साझा चुनौती भएकाले सबैले सामान धारणा राख्नुपर्ने बताए । ‘सार्कका जुनसुकै देशलाई आवश्यक पर्दा पनि पठाउन सक्ने गरी औषधि र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नुपर्छ,’ उनले भने, ‘जनस्वास्थ्यको यस्तो महत्वपूर्ण विषयमा आपसमा सहकार्य गर्न क्षेत्रीयस्तरको संयन्त्र बनाउनुपर्छ ।’

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सार्कका सदस्य राष्ट्रहरूबीच सहकार्य गर्नुपर्नेमा जोड दिइन् । ‘सार्क चार्टरमै जनस्वास्थ्यका विषयमा सहकार्य गर्न सकिने उल्लेख छ,’ उनले भनिन्, ‘त्यसअनुसार हामी सहकार्य गर्न सक्छौं ।’
सार्क भिडियो कन्फरेन्समा सहभागी हुँदै श्रीलंकाका राष्ट्रपति गोटावाय राजपक्षले कोरोना ९कोभिड–१९० नियन्त्रण र रोकथाम नै सार्क क्षेत्रको मुख्य चुनौती भएको बताएका छन् । उनले आफ्नो मुलुकमा कोरोना नियन्त्रणका लागि पर्यटक आवागमनलाई बन्द गरेको बताए । युरोप, कोरिया र इरानलगायत मुलुकका यात्रुलाई बन्द गरेको उनको भनाइ छ । रोग रोकथामका लागि आफ्नो मुलुकका स्कुल, क्याम्पस र विश्वविद्यालय बन्द गरेको उनले जानकारी दिए । (राजधानी दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्