काठमाडो, चैत्र ३ । नेपाली सेनाले घोडेजात्रा नरोक्ने भएको छ । उसले आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने निर्णय गरेको छ । हाल विश्वमा फैलिरहेको कोरोना भाईरसका कारण मिति ११ चैत्र २०७६ मा पर्ने यस वर्षको घोडेजात्रा समारोह नेपाली सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने निर्णय गरेको हो ।
नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहितको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’आयोजना गर्दै आईरहेको थियो ।
हाल विश्वका विभिन्न राष्ट्रहरुमा फैलिरहेको कोरोना भाईरस को कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरे सँगै उक्त भाईरसको जोखिमलाई मध्ये नजर गरि यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरेको हो । उक्त समारोहको विभिन्न टेलिभिजनहरुमार्फत प्रत्यक्ष प्रसारण गर्न मिलाएको जनाएको छ ।
नेपाल सरकारको निर्णय बमोजिम कोरोना भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरुको अवलम्बन गर्न नेपाली सेना प्रतिवद्ध रहेको जनाएको छ ।