काठमाडौँ, ६ चैत । कोरोना १९ को चर्चा गाउँघर सम्म पुगेको छ। सर्वसाधारणमा यो भाइरसको भय निकै बढी छ। जोगिने तयारी भने कम छ। दुई छाक टार्न गाह्रो भएका गरिबले साबुन पानीले हातधुने वा मास्कको प्रयोग गर्ने बारे पर्याप्त जानकारी पाएका छैनन। तर, उनीहरूमा पनि कोरोनाको त्रास बढी छ।
प्रदेश–२ का आठै जिल्ला भारतीय सीमासँग जोडिएका छन्। भारतमा कोरोना भाइरस प्रभावितको संख्या बढ्दै जाँदा यसको सबैभन्दा बढी खतरा सीमाक्षेत्रका नेपाली गाउँमा छ। तर, यी क्षेत्रमा नाम मात्रको जनचेतना र जोगिने तयारी भएको देखिन्छ। प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरससम्बन्धी सचेतना अभिवृद्धि तथा स्वास्थ्य सामग्री खरिदका लागि बजेट छुट्याए पनि त्यो खर्च नभएको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साह बताउँछन्। ‘मन्त्रालयमा सचिवनै छैनन्, यसले गर्दा बजेट भएर पनि थुप्रै आवश्यक काम हुन सकेको छैन’, तर, सिमित स्रोत साधनमा कोरोना भाइरससँग जुध्ने तयारी निर्देशनालयले गरिरहेको छ। यो प्रदेशमा रहेका ३ वटा विमानस्थल जनकपुर, सिमरा र राजविराज विमानस्थलमा हेल्प डेस्क राखिएको छ। त्यसैगरी ३५ वटा नाकामै हेल्प डेस्क राखिए पनि २७ वटामा व्यवस्थित रूपमा स्क्रिनिङ भइरहेको निर्देशक साहले बताए।
प्रदेशका विभिन्न अस्पतालमा १२५ वटा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ। केन्द्रबाट सचेतनाका लागि आएका पर्चा पम्पलेट सर्वसाधारणमा वितरण गरी जनचेतना फैलाउने काम भइरहेको छ। सरोकारवालासँग छलफल गरी जोखिमको सामना गर्ने सल्लाह सुझाव लिने काम भइरहेको निर्देशनालयले जनाएको छ। (अन्नपूर्ण पोष्ट्बाट)