एजेन्सी, ६ चैत्र । दिल्लीमा आठ वर्ष अघि भएको निर्भया बलात्कारका दोषी चारजनाको फाँसीको तयारी पूरा भइसकेको जनाइएको छ । फाँसी दिने पवन जल्लाद उत्तर प्रदेशको मेरटबाट तिहार जेल पुगिसकेका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार पवन जल्लादले चारैजना दोषीलाई फाँसी दिनेछन् र उनले मंगलबार साझ नै फाँसीको तयारीका लागि तिहार जेल प्रशासनमा उपस्थिति जनाइसकेका छन् । जेलका सुपरिटेन्डेन्टले झुण्ड्याउने डोरीको परीक्षण गर्नेछन् । झुण्ड्याउने फाँसीको तख्ताको समेत नीरिक्षण गर्नेछन् ।
दिल्ली जेल ऐन २०१८ अनुसार फाँसी जेल सुपरिटेन्डेन्ट, डेपुटी सुपरिटेन्डेन्ट, मेडिकल अफिसर, डिस्ट्रिक मेजिस्ट्रेटको उपस्थितिमा हुनेछ । गार्ड, वार्डर सहित हतियारधारी गार्ड समेत उपस्थित हुनेछन् । फाँसी दिइने चारैजनाका परिवार भने उपस्थित हुनेछैनन् । तिहार जेलका सबै कैदीबन्दी जेल परिसरभित्रको कोठा बाहिर समेत आउन पाउनेछैनन् । फाँसी दिइएका चारजनाको शव निकालेपछि मात्र कोठाबाट निस्कन अनुमति पाउनेछन् ।
यसअघि साँझ सबै कानुनी बाटो बन्द भएपछि चारैजनाको फाँसी निश्चित भएको हो । अदालतको आदेशले पटक पटक स्थगित भएको फाँसीको सजाय अब भने निश्चित भएको हो ।
२० मार्चको सुर्योदय अगाडि विहान साँढे पाँच बजे नै चारजनालाई झुण्डाइने छ । फाँसी दिइनेमा पवन गुप्ता, विनय शर्मा, अक्षर ठाकुर र मुकेश सिंह छन् । घटनामा छ जना दोषी पाइएपछि उनीहरुमध्येका एक राम सिंहले सन् २०१३ मा तिहार जेलमा आत्महत्या गरिसकेका छन् । अर्का दोषी कम उमेरका पाइएकाले कानुनबमोजिम रिहा भइसकेका छन् ।
फाँसी दिनुअघि चारजना दोषी पवन गुप्ता, विनय शर्मा, अक्षय ठाकुर र मुकेश सिंहलाई परिवारसँग भेट्न अनुमति दिइएको थियो । टाइम्स अफ इन्डियाका अनुसार परिवारसँग भेट्न र एक अर्कालाई छुन कोठाभित्र अनुमति दिइएको थियो । चारजनामध्ये तीनजनाको परिवार जेलमा भेटका लागि पुगेपनि अक्षय ठाकुरको परिवार नपुगेको तिहार जेलको स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।
२९ फेब्रुअरीमा पवन गुप्ता र विनय शर्माको परिवार जेलमा पुगे । उनीहरु परिवारसँग भेट्दा खुबै रोएका थिए । शर्मालाई जेलका अधिकारीहरुले सम्झाउनुपरेको थियो । अनियन्त्रित तरिकाले शर्मा रोएको उल्लेख गरिएको छ ।
२ मार्चको परिवारसँगको भेटमा मुकेश सिंह बढी समय शान्त देखिन्थे । तर, उन बेला बेलामा भावुक भई रोएका थिए । उनी बारम्बार कानुनी विकल्प रहेको र फाँसीबाट बच्ने बताइरहेका थिए । यसका लागि कानुनी परामर्श गरेर रिटहरु दायर भएका थिए । अब भने ती रिटहरु सबै काम लागेनन् ।
दोषीमध्य विहार घर भएका अक्षय ठाकुरको परिवार भने जेलमा पुगेनन् । उनकी पत्नी पुनिता देवीले पारपाचुकेको निवेदन अदालतमा दर्ता गरेकी छिन् । यसलाई बहाना बनाएर भएपनि फाँसी स्थगित गराउन खोजिएको थियो ।
सन् २०१२ को डिसेम्बरमा दिल्लीमा बसमा भएको सामूहिक बलात्कारमा निर्भयाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न छजनालाई प्रहरीले पक्राउ गरेकोमा एकजनाले आत्महत्या गरेका थिए । अर्का एकजना कम उमेरका भएकाले रिहा भए । बाँकी चारजना भोलि सुर्योदय अगावै फाँसी दिइनेछन् ।