चितवन, ७ चैत । कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ । भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिएका छन् ।
७० बेडको अस्पताल निर्माण गर्ने तयारी रहेको बताउँदै प्रमुख दाहालले भने, “अहिलेलाई ओपीडी सेवा हुनेछ । त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ ।”
कोरोना नियन्त्रण कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले बताए । “प्रदर्शनी केन्द्रका तीनवटै भवन प्रयोग गर्नु परेमा तीन सय बेड क्षमताको अस्पताल निर्माण गर्न सक्नेछौँ ।” अस्पतालमा खटिने स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिएका छन् । शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् ।
बिरामीको चाप र आवश्यकताअनुसार जनशक्ति र उपकरणहरू थपिँदै लैजाने उनले बताए । कार्यदलको बैठकले शुक्रबारबाट चितवनमा सञ्चालन हुँदै आएका हाटबजार र केबुलकार पनि बन्द गर्ने निर्णय गरेको कार्यदलका सदस्य नारायण अधिकारीले जानकारी दिएका छन् । (गोरखापत्र दैनिकबाट)