Logo

राजधानी छाड्ने यात्रुको चाप बढ्यो, लाखौं उपत्यका छाड्दै



काठमाडौं, ८ चैत्र । सरकारले १० चैत्रबाट लागू हुने गरी दुई हप्ता लामो दुरीको यातायात सेवा बन्द घोषणा गरेपछि काठमाडौं उपत्यका छाड्ने चाप बढेको छ । एकै दिन दुई लाखभन्दा बढी मानिसले काठमाडौं उपत्यका छाड्ने क्रम चलेको यातयात व्यवसायीले जनाएका छन् ।

यात्रुको चाप बढेपछि यातायात व्यवसायीले बस सेवा थप्दैछन् । आजै दुई सय भन्दा बढी बस सेवा थप्न लागिएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

अहिले नयाँ बसपार्क, कोटेश्वर र पुरानो बसपार्कमा भीड बढेको छ । यात्रुहरु टिकट नपाएर समस्यामा परेका छन् । चाप बढेपछि सरकारी बस समेत सञ्चालन गर्ने तयारी भएको बुझिएको छ ।

कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले अत्यावश्यक बाहेकका सेवा बन्दको घोषणा गरिसकेको छ । शैक्षिक संघसंस्था ६ चैत्रबाट नै बन्द छन् । एसईई स्थगित भएको छ भने विश्वविद्यालय र सरकारी सेवा प्रवेशका परीक्षाहरु पनि स्थगित गरिएका छन् ।

वैशाखयता जनजीवन सामान्य नहुने देखिपछि मानिसहरु काठमाडौं छाडेर घर गएका हुन् । अहिले सडकमा आवागमन पातलिदै गएको छ । राजधानीबाट आउने जाने मुख्य नाकाहरुमा भने चाप बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot