काठमाडौँ, ८ चैत : कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल तथा संयुक्त प्रयासमा आइसोलेसन वार्ड, क्वारेन्टाइन भवन बनाउनेदेखि हेल्थ डेस्क स्थापना गर्ने र सीमाक्षेत्रको निगरानी गरिरहेका छन् ।
नेपाल प्रहरीले अहिले १३ हजारभन्दा बढी जनशक्ति कोभिड–१९ कै लागि प्रशिक्षण दिएर तयारीमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । “आवश्यक पर्दा जनशक्ति जुनसुकै बेला ‘मुभ’ हुनेछन्, त्यसमा प्रहरीले पूर्ण तयारी गरेको छ”, प्रवक्ता क्षेत्रीले भने । उनले जिल्ला र केन्द्रमा कोरोनासम्बन्धी हेल्थ डेस्क स्थापना गरिएको जानकारी दिए । प्रहरीको २ नं गणमा ५० श्ययाको क्वारेन्टाइन भवन र नेपाल प्रहरी अस्पतालमा २० श्ययाको आइसोलेसन वार्ड तयार पारिएको जानकारी दिए ।
शुक्रबार भिडियो कन्फ्रेन्समार्फत सातै प्रदेशमा उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको उनले जानकारी दिए । सीमाक्षेत्रमा समेत कतिपय ठाउँमा प्रहरीले आफ्नै तरिकाले हेल्थ डेस्क स्थापना गरेको र कतिपय स्थानमा सशस्त्र प्रहरीसँगको समन्वयमा डेस्क स्थापना गरेर निगरानी भइरहेको छ । कतिपय स्थानमा स्वास्थ्य संस्थासँग समन्वय गरेर डेस्क स्थापना गरिएको छ । दिपायल, नेपालगञ्ज र सप्तरीमा रहेको प्रहरी अस्पताल पनि आवश्यक तयारीका साथ बसेको उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल पनि आवश्यक तयारी जुटेको छ । नेपालमा कोरोनाको सङ्क्रमण नभए पनि सम्भावित जोखिम रोक्न र रोग भित्रिएमा तत्काल परिचालन हुने गरी सशस्त्र प्रहरीले तयारी गरेको प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो । आवश्यक परेको खण्डमा एक हजार व्यक्तिलाई उपचार गर्न सक्ने गरी क्षेत्र छुट्याएर आइसोलेसन र क्वारेन्टाइनका लागि आवश्यक तयारी थालिएको उनले जानकारी दिए ।
नेपाल प्रहरी तथा विभिन्न स्वास्थ्य संस्थासँगको समन्वयमा सीमाक्षेत्र र मानिसको आवतजावत गर्ने क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमा आसपास १४२ स्थानमा हेल्थ डेस्कमार्फत सेवा दिइरहेको श्रेष्ठले जानकारी दिए ।रासस