काठमाडौँ, १९ चैत । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण गरिरहेका छन् । देशैभरि क्वारेन्टाइन निर्माण गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ ।
क्वारेन्टाइन व्यवस्थापनको संयोजकको जिम्मेवारी पाउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण सुरु गरिसकेको बताएका छन् । उनले भने, “हालसम्म निर्माण भएका ठाउँको तथ्याङ्क आइसकेको छैन तर अधिकांश ठाउँमा निर्माण सम्पन्न भई सञ्चालनमा समेत आइसकेका छन् । ” मापदण्डअनुसार नै क्वारेन्टाइन बन्नेछन् । सङ्घीय सरकारअन्तर्गत पाँच हजार, सातवटै प्रदेशअन्तर्गत दुई/दुई हजार, छवटा महानगरपालिकाले दुई/दुई हजार, प्रत्येक उपमहानगरपालिकाले एक/एक हजार, ७७ वटै जिल्लामध्ये हिमाली जिल्लामा पाँच सय, पहाडी जिल्लामा एक हजार, तराईका जिल्लामा दुई/दुई हजारका दरले क्वारेन्टाइन बनाउने योेजना रहेको जानकारी उनले दिएका छन् ।
उनले भने, “बनेका क्वारेन्टाइन प्रयोगमा नआउन पनि सक्छन् तर तयारी सबै ठाउँमा गर्ने निर्देशन भएको छ । ” क्वारेन्टाइन निर्माणमा एकरूपता ल्याउन मापदण्ड बनाइएको र सोही मापदण्डअनुसार सबै ठाउँमा निर्माण भइरहेको बताउँदै उनले कतिपय ठाउँमा सञ्चालनमा समेत आइसकेको बताएका छन् । काठमाडौंँ उपत्यकाको खरीपाटी, कर्मचारी प्रशिक्षण प्रतिष्ठान केन्द्र जाउलाखेल, कृषि तालिम केन्द्र बोडे, पशुपति धर्मशालालगायत अन्य नयाँ चार ठाउँमा पनि क्वारेन्टाइन निर्माण भइरहेको उनले बताएका छन् ।
जोरपाटीस्थित काठमाडौंँ मेडिकल कलेजमा पनि क्वारेन्टाइन बनाउने तयारी भएको छ । त्यहाँ डेढ सयदेखि दुई सयसम्म अट्ने बेड छन् । त्यहाँ होस्टल पनि छन् । अस्पतालले क्वारेन्टाइन बनाउन होस्टल पनि दिने कुरा भइरहेको छ । “त्यहाँ केही विद्यार्थी रहेका उनीहरूलाई अन्यत्र राख्ने कुराकानी भएको छ । अन्य ठाउँमा पनि क्वारेन्टाइन बनाउन हेर्ने काम भइरहेको छ”, उनले जानकारी दिएका छन् । (गोरखापत्रबाट)