काठमाडौं, २० चैत । नेपालमा पछिल्लो समय नयाँ कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएका छैनन । नियमित चार दिनसम्म पनि कोरोना भाइरसका नयाँ संक्रमित नदेखिएको हो ।
यसअघि १५ गते मात्र एकजनामा कोरोना भाइरसको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो परीक्षणमा कुनै व्यक्तिलाई संक्रमण नदेखिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ७३ जनाको कोरोना भाइरस (कोभिड – १९) परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । डा. देवकोटाले हालसम्म एक हजार १३३ जनाको परीक्षण गरीसकेको जानकारी दिएका छन् । उनले देशभरका आइसोलेसनमा भने ९९ जना कोरोना आशंकित व्यक्ति रहेको बताए ।
प्रवक्ता डा देवकोटाले सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित चौथो व्यक्तिको दोस्रो पटक परीक्षणका लागि स्वाव ल्याइसकेको जानकारी दिदै उहाँसंग सम्पर्कमा आएका १२ जनाको स्वाव संकलन गरिएको जानकारी दिएका छन् । र्यापिड टेष्ट कीटबारे विभिन्न सञ्चार माध्यामहरुमा प्रकाशित प्रसारित समाचार प्रकाशित भएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा र्यापिड टेष्ट कीटबारे सार्वजनिक गरेको धारणालाई मन्त्रालयले खरिद गरेको र्यापिड टेष्ट कीटसँग जोडी विभिन्न सञ्चारमाध्याममा भ्रमपूर्ण समाचार आएपछि मन्त्रालयले त्यसको खण्डन गरेको छ । (गोरखापत्रबाट)