Logo

महामारीको मौका छोपी स्वास्थ्य समाग्री खरिदमा खेलवाड गर्ने जघन्य अपराधी हुन्, कडा कारबाही हुनुपर्छ- सुजाता कोइराला



काठमाडौं, २१ चैत्र । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले देशमा महामारीको मौका छोपेर स्वास्थ्य समाग्री खरिदमा भ्रष्टाचार भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेकी छिन् । उनले यस्तो विपदको बेलामा सेवा गर्नुपर्ने ठाउँमा उल्टै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खेलवाड गरी अनियमितता गर्नेहरुले उन्मुक्ति पाउन नहुने बताइन् ।

‘विपन्न आर्थिक अवस्थाका जनताहरु लकडाउनमा भोकै पर्न थालेका छन्, देशले ठूलो संकट भोगिरहेको छ,’ कोइरालाले रिपोर्टर्स नेपालसँग भनिन्, ‘यो बेलामा सरकारमा बसेकाले सेवा गर्नुको साटो अनियमितता गरेर जघन्य अपराध गरेका छन् ।’ कोइरालाले गुणस्तरहीन सामान खरिद गरेको घटनाको सत्यतथ्य छानविन गरी सबै हिसाबकिताब देखाउन सरकारसँग माग गरिन् ।

स्वास्थ्य सामाग्री खरिदमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्नेमा उनको जोड थियो । उनले भनिन्, दोषी छ भने जुनसुकै पदको व्यक्ति पनि सजायको भागिदार हुनुपर्छ । संकटको बेलामा पनि यति ठूलो अनियमितता र जनताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै सरकारले देश र जनतालाई स्पष्ट पार्नुपर्ने बताइन् । ठेक्का रद्द गरेर सरकारका जिम्मेवार व्यक्तिहरु उम्कन नपाउने उनको भनाई थियो ।

कोइरालाले चीन सरकारले निश्चित कम्पनि र आपूर्तिकर्ताबाहेकबाट सामान नल्याउन भन्दा भन्दै अनुमति नपाएको कम्पनिबाट सामान ल्याएको विषयबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । यस्तो कदमले देशको छवि नै बिगार्न सक्ने भन्दै सरकारले सबै जिम्मेवारी लिनुपर्ने बताइन् ।

सरकारले आइतबार चीनबाट ल्याएको स्वास्थ्य सामाग्रीको गुणस्तरमाथि नै प्रश्न उठिरहँदा कोइरालाको पछिल्लो भनाई आएको हो । सरकारले ठेक्का सम्झौता रद्ध गरेपनि आपूर्तिकर्ता कम्पनिको छवि र सामानको गुणस्तरमाथि प्रश्न उठेपछि तरंग ल्याएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot