काठमाडौँ, २२ चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका लागि दृढ इच्छाशक्तिका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै अहिलेसम्म आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ ।
गोरखापत्रसँगको कुराकानीमा उनले लकडाउनको पालना गरी घरभित्रै रहेर सावधानी अपनाउनु हामी सबैको कर्तव्य हो र यसको सबैले पालना गर्नुपर्छ भनेका छन् । उनले थपे, ‘‘यस सङ्कटको घडीमा सबैको सहयोग र साथ आवश्यक छ, यहाँका नागरिक र सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्छ । तीन तहकै सरकारबीच समन्वय हुनुपर्छ ।’’ कोरोना भाइरस महामारीका रूपमा फैलिन नदिन प्रदेश सरकार सचेत भएर स्वास्थ्यसँग जोडिएका विभिन्न क्षेत्रका कामलाई गति दिएको उनको भनाइ छ । प्रदेशको आठवटै जिल्लाका विभिन्न १२२ स्थानमा दुई हजार ४३४ शब्याको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले स्थानीय तह, नेपाली सेना र सशस्त्र प्रहरीसँगको समन्वय र सहकार्यमा न्यूनतम मापदण्ड पु¥याएर क्वारेन्टाइन तयार पारिएको बताएका छन् ।
मुख्यमन्त्री राउतले सात सयभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा र आठ सयभन्दा बढी होम क्वारेन्टाइनमा बसिरहेको जानकारी पनि दिएका छन् । उनले ७३ शब्याको आइसोलेसन तयारी अवस्थामा रहेको र अन्य तयार पार्ने काम भइरहेको बताउँदै प्रदेशका १३६ वटै पालिकालाई कम्तीमा २० शøया भएको क्वारेन्टाइन निर्माणका लागि आग्रह गरिएको र सोहीअनुरूप पालिकाहरूले काम गरिरहेको उल्लेख गरेका छन् । कोरोना भाइरस परीक्षण गर्ने रियल टाइम पीसीआर मेसिन पनि प्रदेश राजधानी जनकपुरधाममा जडान भइसकेको र शुक्रबारबाट नमुना परीक्षणको काम पनि सुरु भएकाले यहाँका बिरामीलाई अब उपचारमा सहज हुने उनले जानकारी दिएका छन् । (गोरखापत्रबाट)