Logo

कोरोनालाई जितेपछि अमेरिकी सेनाका नेपाली युवाले भने, पुन: जन्म पाँए



न्युयोर्क , २२ चैत । स्वस्थ्य शरिर भएका अमेरिकी सेनाको तालिम समेत लिएका हट्टाकट्टा ३१ बर्षका रञ्जित गौलीले आफूलाई कोरोनाले ढलाउला भन्ने सोंचेका थिएनन् । तर उनलाई पनि कोरोनाले छाडेन । अमेरिकी सेनामा समेत आवद्ध रञ्जित र कोरोना भाइरसबीच झण्डै १० दिन निकै चर्को लडाई भयो । कोरोनाले उनलाई पछार्न खोज्थ्यो, उनी कोरोनालाई पछार्न खोज्थे । झण्डै १० दिनको लडाईपछि उनले भने – ‘अन्तत मैले जितें, कोरोनाले हार्यो ।’

नेपालको धादिङका रञ्जित गौली नेपालबाट अमेरिका आएको झण्डै ५ बर्ष भयो । उनी सन् २०१५ मै अमेरिकन आर्मी आवद्ध भए भने सन् २०१८ देखि न्युयोर्क सिटी डिपार्टमेन्ट अफ करेक्सनमा समेत कार्यरत छन् । न्युयोर्कको क्वीन्समा बस्दै आएका उनी पार्टटाइम उबर समेत चलाउँछन् । कोरोनाको महामारीको चर्चा सुरु भएदेखि नै उनी काममा विदा लिएर घरभित्रै बस्दै आएका थिए । घरबाहिरजाँदा मास्क लगाउने र सेनिटाइजरको प्रयोग पनि गर्दै आएका थिए ।

मार्च २० सम्म पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि उनलाई अब त कोरोनाबाट बचियो कि भन्ने लाग्यो । त्यसपछि उनले बुबालाई भेट्न श्रीमतिसहित नायग्रा फल्स जाने निधो गरे । उनी भन्छन् – ‘बुबा नायग्रा फल्स क्षेत्रमा बस्ने भएकाले उनले मलाई त्यतै बोलाए । न्युयोर्क सिटीमा महामारीको त्रास बढी भएकाले म बच्न सकिन्छ कि भनेर त्यता लागें ।’ उनी कोरोनाबाट भाइरसबाट बच्ने आशाले नायग्रा फल्स त पुगे । तर त्यहाँ पुगेको भोलिपल्ट नै उनीमा कोरोना संक्रमणको लक्षण देखिन थाल्यो । उनलाई कोरोनाले आक्रमण गरेरै छाड्यो । उनी भन्छन् – ‘सेनिटाइजरको प्रयोग गरेको थिएँ । सावधानीहरु पनि अपनाएको थिएँ । तातोपानी पिउने गरेको थिएँ । तर पनि कोरोना भाइरसले छाडेन ।’

नायग्रा फल्स पुगेको भोलिपल्टै उनलाई बेलुका ज्वरो आयो । राती खलखली पसिना पनि आयो । विहानपख भने उनलाई ज्वरो थिएन । त्यसैले उनले कोरोनाको संक्रमण भएको आशंका गरेनन् । तर बेलुका शरिर दुख्ने लगायतका लक्षणहरु देखिए । उनी भन्छन् – ‘मैले सोंचे, अरु नै कुनै कारण होला । कोरोना त होइन होला भन्ने लाग्यो । किनभने कोरोनाको हल्ला सुरुभएदेखि नै म न्युयोर्कमा समेत सेल्फ क्वारेन्टाइनमा बसेको थिएँ ।’ रञ्जित गौली अहिले पनि अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत छन् ।

तर उनलाई कतै कोरोनाको संक्रमण हो कि भन्ने आशंका भने भित्रभित्रै थियो । ज्वरो नाप्नाका लागि उनले थर्मामिटर किन्न खोजे । तर कतै पनि थर्मामिटर पाइएन । नायग्रा फल्स अस्पतालमा ढोकामा पुग्ने सबैलाई ज्वरो चेक गरिरहेको थियो । उनी पनि अस्पतालमा गए । उनी बेलुका पुगेकाले ढोकामा ज्वरो चेक गरिएन । त्यसपछि उनलाई इमर्जेन्सीमा जान सुझाव दिइयो । त्यसपछि उनी इमर्जेन्सीमा गए । ज्वरो चेक गर्दा ९९ दशमलव ८ डिग्री फरेनहाइट देखियो । उनलाई स्वास्थ्यकर्मीहरुले कहाँबाट आएको भनेर सोधे । उनले इमान्दारिताका साथ न्युयोर्क सिटीबाट आएको कुरा बताए । (खसोखास डटकमबाट)



प्रतिक्रिया दिनुहोस्