Logo

विवेकको नेतृत्वमा महालक्ष्मीमा पाँच सय घरपरिवारलाई गैर सरकारी खर्चमा राहत वितरण



ललितपुर, २२ चैत्र । नेपाली संस्कार परेको बेलामा सहयोग गर्ने हो ,यही मान्यता पुष्टि गरेको छ महालक्ष्मी नगरपालिकाको हाम्रो युवा समाजले । आज नगरपालिकाको वडा नम्बर ८ को शंखादेवी विष्णुडोल क्षेत्र र आसपासका गाउँ टोलका विपन्न आर्थिक अवस्थाका स्थायी तथा अस्थायी गरी झण्डै पाँच सय घर परिवारलाई युवा समाजले आफ्नै खर्चमा राहत वितरण गरेको छ । राहत सामाग्रीमा चामल १० केजी, दाल २ केजी, नुन र साबुन थिए ।

राहत वितरण निकै व्यवस्थित थियो भने एकै रातमा लगत संकलन गरी अनिवार्य आवश्यकता भएकाहरुलाई मात्र उपलब्ध गराइएको थियो । शंखादेवी विष्णुडोल र आसपासका गाउँ टोलका दैनिक ज्यालादारी गर्ने र श्रमिकहरु उपस्थित भएका थिए । हाम्रो युवा समाजका विवेककुमार कार्कीले व्यवस्थित तरिकाले गरिएको राहत वितरणको नेतृत्व लिएका थिए । महानगरीय प्रहरी प्रभाग लुभुका प्रमुख सई धीरेन्द्र थपलियाले सुरक्षा सम्बन्धी व्यवस्था गरेका थिए ।

लकडाउन १२ औं दिन पुग्दा पनि सरकार राहत वितरणका लागि लगत संकलनमै समय बितिरहँदा महालक्ष्मीका युवाहरुले एकै रातमा गैर सरकारी खर्चमा काम गरेपछि देशभर सकारात्मक सन्देश गएको छ । नेपाली काँग्रेसका युवा नेता समेत रहेका हाम्रो युवा समाजका विवेक कुमार कार्कीले कुनैपनि काममा दत्तचित्त भएर लागेमा समय नलाग्ने बताए । उनले भने,’१२ दिनको लकडाउनमा दिनभर काम गरेर साँझ चुल्हो बाल्नुपर्नेलाई गाहे भएको ठानेर राहत वितरण शुरु गरेका हौं ।’ उनले राहत वितरणमा खुलेर सहयोग दिनेहरु आउनुभएकोमा धन्यवाद व्यक्त गरे ।

आज विहान आठ बजेबाट शुरु भएको राहत वितरण दुई घन्टामा व्यवस्थित तरिकाले सम्पन्न भएको थियो । त्यस क्रममा कम्तिमा एक मिटर दुरीमा रेखांकन गरी अनिवार्य मास्कसहित मात्र बस्न दिइएको थियो । राहत लिने क्रममा मानिसहरुको ज्वरोको चेकजाँच समेत भएको थियो । राहत लिन आउनेलाई हातमा अनिवार्य स्यानिटाइजर लागउन लगाउने देखि मास्क समेत वितरण गरिएको थियो । कोरोना भाइरसको संक्रमणबाट जोगिन रोकथामको उपायबारे समेत जानकारी दिइएको थियो । राहत वितरणको व्यवस्थापनमा त्यस क्षेत्रका युवा तथा समाजसेवीहरुले जिम्मा लिएका थिए ।

अहिले महामारीको रोकथामका लागि सरकारले लकडाउन गर्नुपरेकाले विपन्न आर्थिक अवस्थाकालाई कठिनाई भइसकेको बुझेर राहत वितरण गरिएको विवेककुमार कार्कीले बताए । राहत वितरणको जानकारी सामाजिक सञ्जालमा सूचनामार्फत् जानकारी दिएपछि स्थानीयबाट स्वतस्फूर्त सहयोग जुटेको थियो । कतिपयले परेको बेलामा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । हाम्रो समाजका कार्कीले भने, ‘पुण्यको काममा यस क्षेत्रका दाजुभाई दिदीबहिनी तथा आमाबुवाहरुको स्वतस्फुर्त सहयोगले हामी नेपाली कसैको दुःख पीडा देख्न सक्दैनौं भन्ने सन्देश गएको छ ।’

इच्छाशक्ति भएका कुनैपनि काम गर्न समय नलाग्ने कार्कीको भनाई थियो । आफूहरुले एकै रातमा लगत संकलन गरी दुई दिनको तयारीमा राहत संकलन र वितरण गरेको बताए । सकारात्मक काममा सबैको साथ र सहयोग समेत रहिरहने विश्वास व्यक्त गरे ।

महानगरीय प्रहरी प्रभाग लुभुका सई धीरेन्द्र थपलियाले विपतको घडीमा एकले अर्कालाई सहयोग र साथ दिनुपर्ने भावना अनुसार काम भएकोमा खुशी व्यक्त गरे । उनले लकडाउनको पालना गर्न र गराउन यस क्षेत्रका स्थानीयको सकारात्मक साथ पाइरहेको बताए ।

यसअघि हाम्रो युवा समाजले महालक्ष्मी नगरपालिकाभरी स्यानिटाइज गर्नुका साथै विभिन्न स्थानमा मास्क निःशुल्क वितरण गरेको थियो । समाजले लकडाउनको समयमा समाजसेवासम्बन्धी थप कार्यक्रमहरु ल्याउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot