काठमाडौँ, २३ चैत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रदेशका हरेक टोलमा युनिफाइट टिम बनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका हरेक गाउँका टोलहरूमा युनिफाइट टिम गठन गरेर रोगविरुद्ध अभियान थालिएको बताएको छ । सो टिममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक गरी बढीमा छ जनासम्म रहनेछन् । सो टिमले आआफ्नो टोलमा कोरोना भाइरस रोकथाम, नियन्त्रण लगायतका काम गर्नेछ । मुख्यमन्त्री शाहीले टोलदेखि नै सक्रिय भएपछि रोग नियन्त्रण र रोकथाममा मद्दत पुग्ने उद्देश्यले युनिफाइट टिम गठन गरिएको जानकारी दिएका छन् ।
उनले कर्णालीमा अहिलेसम्म कोरोना भाइरसका कुनै पनि सङ्क्रमित नपाइएको हुँदा यस्तै अवस्था बनाउन प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको जानकारी दिएका छन् । कर्णालीबाट कतिपय मानिस काम गर्न भारत जाने र आउने हुँदा सबैभन्दा पहिला नाकामा स्वास्थ्यकर्मीसहितको टोली राखेर निगरानी गरिएको खबर गोरखापत्र अनलाईनमा प्रकाशित गरिएको छ ।