काठमाडौँ, २३ चैत । विराटनगरमा कोरोना भाइरस उपचारका लागि अस्पताल सञ्चालनमा आएको छ । प्रदेश सरकारले विराटनगर–१० मा रहेको नेसनल ट्रेडिङको भवनमा कोसी अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।
आईसीयू र भेन्टिलेटरका दससहित ५० शøयाको अस्पताल शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अवलोकन गरेका छन् । निर्माणसहित आवश्यक पर्ने स्वास्थ्य उपकरण र सामग्री तथा मापदण्डको विषयमा विशेषज्ञ चिकित्सकसँगको परामर्शपछि अस्पतालबाट सेवा सुचारु भएको हो ।पूर्ण अस्पतालको संरचनासहित आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरिएसँगै अब कोडिभ–१९ का बिरामीको उपचारका लागि समस्या नहुने मुख्यमन्त्री राईले स्पष्ट पारेका छन् ।
प्रदेश सरकारले निर्माण गरेको अस्पतालको हरेक वार्डमा सीसी क्यामेरा जडान गरिएको छ । वार्डलाई कन्ट्रोल रुमबाट निगरानी गरिने सुविधासँगै बिरामीको मोबाइलमा स्वास्थ्य सूचना पठाउन सकिने सुविधाको प्रबन्धसमेत गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिएका छन् । सङ्क्रमित बिरामीलाई मात्रै उपचारात्मक सेवा दिने उद्देश्यसहित निर्माण गरिएको अस्पतालको बाहिरी परिसरमा सुरक्षा पोस्ट, हेल्थ डेस्क, सामान आदानप्रदान कक्ष, कार्यालय र स्वास्थ्यकर्मी चेमनागृह रहेको छ ।
बिरामीका लागि अस्पतालभित्रै चमेनागृह निर्माण गरिएको छ । मुख्यमन्त्री राईको संयोजकत्वमा रहेको प्रदेशस्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिले गत चैत ७ गते कोभिड–१९ उपचार केन्द्र निर्माण गर्ने निर्णय गरेको खबर गोरखापत्र अनलाईनमा प्रकाशित गरिएको छ ।