Logo

चीनमा कोरोना भाइरसबारे रिसर्च पेपर प्रकाशनमा कडाई, प्रकाशनपूर्व स्वीकृती लिनुपर्ने



एजेन्सी, १ वैशाख । चीनले कोरोना भाइरसबारे प्रकाशनमा समेत कडाई गरेको छ । चीनको केन्द्रीय सरकारले निर्देशिका नै जारी गरेर कुनैपनि प्राज्ञिक रिसर्च प्रकाशनपूर्व अनुमति लिनुपर्ने भनेको छ ।

विशेषगरी कोरोना भाइरसको उत्पत्तिबारे गरिएका रिसर्च र शोधपत्रहरुमा अनुमति लिनुपर्ने उल्लेख छ । चीनका दुई विश्वविद्यालयले यसबारे प्रकाशित गरेका दुई वटा रिसर्च आर्टिकलहरु वेवबाट हटाइएको छ ।

नयाँ निर्देशिका अनुसार कोभिड १९ को विषयमा रिसर्च पेपरहरु प्रकाशनका लागि पठाउनुपरेमा अतिरिक्त पुनपरीक्षण अनिवार्य गरिएको छ । केन्द्रीय सरकारको अनुमति लिनुपर्नेछ ।

पुनपरीक्षणका लागि चीनले छुट्टै कमिटि नै बनाएको छ । रिसर्च पेपरहरु प्राज्ञिक कमिटिहरुले त्यहाँको शिक्षा मन्त्रालयमा पठाउनेछन् जसले मन्त्रालयको टास्क फोर्स अन्र्तगतको कमिटिलाई पठाउनेछ । त्यसपछि विश्वविद्यालयहरुले रिसर्च पेपरको निर्णय पर्खनुपर्नेहुन्छ ।

चीनको अमेरिकासँग कोरोना भाइरसको विषयमा विवाद चल्दै आएको छ । विशेषगरी कोरोना भाइरसको उत्पत्तिबारे चीन र अमेरिकाबीच द्धन्द्ध चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाइनिज कोरोना भनेपछि विवाद बढेको हो । चिनियाँ अधिकारीले अमेरिकी सेनाका कारण वुआनमा कोरोना भाइरस देखिएको भनाई सार्वजनिक गरेका थिए ।

चीनमा कोरोना भाइरसको उत्पत्तिसम्बन्धि रिसर्च पेपरहरु धमाधम प्रकाशित हुँदैछन् । कतिपय पेपरहरुले चीनबाट कसरी उत्पत्ति भएको प्रमाणसहित उल्लेख गरेपछि रिसर्च पेपर प्रकाशनमा कडाई गरिएको हो ।-Photo Source: Xinhua



प्रतिक्रिया दिनुहोस्