Logo

स्वास्थ्य सामग्री भारत र चीनसँग खरिद गरिने



काठमाडौँ, २ वैशाख । सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ । स्वास्थ्य सामग्री खरिदका लागि सरकारले गरेको पत्राचारको प्रतिउत्तरमा भारत र चीनले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिनेसहितको पत्र नेपाली सेनालाई प्राप्त भएपछि खरिद प्रक्रियालाई अगाडि बढाइने भएको हो ।

खरिद प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाउने क्रममा चिनियाँ कम्पनीसँग सोमबार भिडियो संवाद गरी नेपाललाई चाहिने स्वास्थ्य सामग्रीबारे जानकारी दिइएको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्न लागिएको बताएका छन् । उनले भने, ‘‘खरिदका लागि पत्राचार गरिएका मुलुकमध्ये भारत, चीन र दक्षिण कोरियाबाट प्रतिउत्तर आएको छ, प्रतिउत्तरमा भारत र चीन तयार भएकाले तिनीहरूसँगै स्वास्थ्य सामग्री खरिद गरिने छ । ’’

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रद्वारा तयार पारिएको स्वास्थ्य सामग्रीको सूचीका आधारमा नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि भारत, चीन, दक्षिण कोरिया, सिङ्गापुर र इजरायललाई पत्राचार गरेको थियो । सैनिक प्रवक्ता पाण्डेका अनुसार, नेपाललाई चाहिने औषधि र सामग्रीको सूची तयार पारी आइतबार नै चीनलाई पठाइसकिएको छ । भारतले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई औषधि हस्तान्तरण गर्ने छन् र त्यहाँबाट नेपालले ल्याउनेछ । भारतले नेपाललाई ६० प्रकारका औषधि उपलब्ध गराउने छ भने चीनले औषधि र आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छ ।

नेपाललाई औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको चिनियाँ कम्पनी विश्वका अन्य ८० मुलुकमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि औषधि तथा स्वास्थ्य सामग्री आपूर्ति गरिरहेका छन् । मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र नेपाली सेनाका पदाधिकारीहरू सहित आइतबार बसेको बैठकले खरिद गर्न लागिएको औषधि र स्वास्थ्य सामग्रीको सूचीलाई अन्तिम रूप दिएको थियो । त्यसपछि सो सूची भारत र चीन पठाइएको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot