Logo

अमेरिकामा आँधीबाट ३० जनाभन्दा बढीको मृत्यु,दशकको शक्तिशाली आँधी



२ वैशाख ।कोरोनाभाइरसको महामारी जारी रहेकै अवस्थामा संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारविहीन हुनुका साथै ठाउँठाउँमा बाढी र पहिरो गएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

अलाबामा राज्यमा आँधीपीडित मानिसहरु सामुदायिक आश्रयकेन्द्रमा भेला भएका र कोरानाभाइरस प्रसार रोक्न उनीहरुले मास्क लगाउनु परेको छ । आँधीबाट अलाबामा राज्यमा मात्र ११ जनाको मृत्यु भइसकेको छ ।

उता दक्षिणी क्यारोलिना राज्यमा नौ जनाको ज्यान गएको छ भने छिमेकी राज्य जर्जियामा आठ जनाको मृत्यु भएको छ । टेनिसी राज्यका अधिकारीहरुले राज्यमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाएका छन् । अर्कान्सास र उत्तरी क्यारोलिना राज्यमा रुखहरु ढलेका वा घरहरु भत्किएका कारण केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।

दक्षिणी क्षेत्रका राज्यहरुका कपितय ठाउँमा शक्तिशाली चक्रवात (टोर्नाडो) उत्पन्न भएको र यी चक्रवातहरु पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको मौसम विज्ञान विभागले जनाएको छ ।

मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले एक दशकको अवधिमा यति शक्तिशाली आँधी पहिलोपटक देखिएको बताउनुभयो । उहाँले राज्यमा विगतमा पनि चक्रवातको अनुभव गरिएको तर यति शक्तिशाली आँधी पहिलोपटक आएको बताउनुभयो ।

जर्जियाका गभर्नर ब्रायन केम्पले कोरोनाभाइरसका कारण धेरै मानिस कामबिहीन भएको अवस्थामै आँधीले उनीहरुको सर्वस्व लुटेको बताउनुभयो । “अब यी मानिससँग आफ्नो भन्ने केही छैन, सबै गुम्यो ।”

यो आँधी आइतबारदेखि शुरु भएको हो । अलाबामा राज्यका गभर्नर के आइभीले कोरोना प्रसार रोक्ने उद्देश्यले लगाइएको “सामाजिक दूरी” सम्बन्धी नियम पनि हटाइदिनु भएको छ । राज्यका अस्थायी आश्रयस्थलहरुमा मानिसहरु मास्क लगाएर एकै ठाउँमा भेला भएर बस्न बाध्य भएका छन् ।

आँधी प्रभावित क्षेत्रहरुमा बाढी र पहिरो गएको छ भने टेक्सासदेखि मेनसम्मको क्षेत्रमा १३ लाख ग्राहकको विद्युत लाइन काटिएको छ ।

टेनिसी उपत्यकामा सप्ताहान्तमा वर्षा मापन गर्दा १५ सेन्टिमिटरसम्म वर्षा भएको पाइएको छ । टेनिसी र अलाबामाका ताल र नदीको सतह बढेको छ ।



प्रतिक्रिया दिनुहोस्