काठमाडौँ, ५ वैशाख । द्रुत परीक्षण किटको प्रयोग गरी भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण परीक्षण सुरु भएसँगै बाग्मती प्रदेशमा १२ जनामा पोजेटिभ देखिएको छ ।
द्रूत परीक्षण किट अर्थात र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) बाट कोरोना भाइरसको एन्टी बढी परीक्षण गर्दा बाग्मती प्रदेशको मकवानपुरमा चार जनासहित १२ जनामा पोजेटिभ रिपोर्ट आएको हो । मकवानपुरका हेटौँडा उपमहानगरपालिका क्षेत्रमा बिहीबार आरडीटी किटबाट ४९ परीक्षण गरिएकोमा चार जनाको रिपोर्ट पोजेटिभ भेटिएको छ । आरडीटी पोजेटिभ रिपोर्ट आएकाहरुलाई हेटौँडा अस्पतालको आइसोलेसन कक्षमा राखिएको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिएका छन् ।
उनले भने, आरडीटी पोजेटिभ रिपोर्ट भेटिएकाहरुको स्वाब सङ्कलन गरिएको छ, पीसीआर विधिबाट कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा परीक्षणपछि कोरोना भाइरस लागे नलागेको यकिन हुन्छ । हेटौँडा १५ मा नौ जना र हेटौँडा ४ स्थित बासुदेव सभागृहमा ४० जनाको आरडीटी परीक्षण भएको भारत घर भइ हाल हेटौँडा ४ मा बस्दै आएका महिला, भारत गएर फर्किएका हेटौँडा–२ का ६७ वर्षीय पुरुष, भारतबाट फर्किएका हेटौँडा–५ का २४ वर्षीय पुरुष र साउदी अरबबाट फर्किएका ३२ वर्षीय पुरुषमा आरडीटी पोजेटिभ देखिएको हो । यस्तै आरडीटीबाट कोरोना भाइरसको एन्टी बढी परीक्षण गर्दा मकवानपुर बाहेक प्रदेशका जिल्लामा आठ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।
बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आरडीटीबाट परीक्षण गर्दा बिहीबार थप एक जनामा पोजेटिभ पाइएको छ ।
मन्त्रालयका प्रबक्ता एवं बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाईले ९९४ जनामा आरडीटीबाट जाँच भएकोमा काठमाडौँ जिल्लामा ३१ वर्षीया महिलामा पोजेटिभ देखिएको बताएका छन् । उनले भने, इटालीबाट फर्किएका बुढानिलकण्ठ नगरपालिकाका ती महिलाको पीसीआर विधिबाट परीक्षण हुनेक्रममा रहेको छ ।
कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, चितवन, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पोजेटिभ पाइएको हो । हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण दुई हजार २५४ जना गरिएकोमा पोजेटिभ भेटिएका आठ जनामध्ये दुई जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ पाइएको थियो । (गोरखापत्रबाट)