काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा गोरखापत्रसहित राज्यको स्वामित्वमा रहेका सञ्चारमाध्यमहरूसँँगको विशेष अन्तर्वार्तामा सो कुरा स्पष्ट गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने र भारतमा सङ्क्रमणको स्थिति नहेरी सीमा खोल्न पनि नसकिने स्पष्ट पारेका छन् । सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्रमणले नेपालमा विकराल रूप लिन नपाएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “अब यसले हामीलाई झुक्याउन सक्दैन । ”
कोरोना भाइरस विश्वमा डढेलोझैँ फैलिइरहेको अवस्थामा यसको सङ्क्रमणबाट नेपालमा कसैले पनि जीवन गुमाउन नपरोस् भनी सरकारले पर्याप्त सतर्कता अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको नियन्त्रण, रोकथाम र उपचारमा सफलतापूर्वक अगाडि बढिरहेको बताएका छन् । उनले लकडाउनका कारण यस वर्ष मुलुकको अर्थतन्त्रमा नराम्रो असर परे पनि अर्को वर्ष सुधार गर्न सकिने भएकाले मानव जीवन रक्षा पहिलो प्राथमिकता हुने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, “अहिले जीवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा राख्दैनौँ । ” लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै उनले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने बताएका छन् ।
विश्वमा कोरोना निर्मूल नभएसम्म प्रवेशद्वार खोल्ने विषयप्रति सरकार सतर्क रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा भावुक कुरा गर्नु नहुँने बताएका छन् । नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीले स्वदेश आउन नपाएको गुनासोलाई सरकारले सम्बोधन गर्दैछ कि भनी राखिएको जिज्ञासामा प्रधानमन्त्री ओलीले भारत सरकारले होटलमा राख्न खोज्दा दसगजामा जम्मा हुनुलाई अलपत्र भन्न नमिल्ने बताएका छन् । कोरोना साम्य भएपछि कोरोनारहित भएर मात्र उनीहरू घर फर्कनुपर्ने प्रधानमन्त्रीले स्पष्ट गरेका छन् । (गोरखापत्रबाट)