Logo

किट अभावः शङ्कास्पद परीक्षणबिनै फर्कन बाध्य



जाजरकोट, बैशाख ७ । जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ । कोरोना परीक्षणका लागि शिवालय गाउँपालिकामा पुगेका १७ जना किट अभावमा परीक्षणबिनै फर्कन बाध्य भएका छन् ।

गाउँपालिकाले भारत र अन्य मुलुकबाट हालै आएकाको कोरोनाको द्रुत खोज परीक्षण गर्नका लागि सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो । परीक्षणका लागि शनिबार विदेशबाट आएका ४१ जना उपस्थित भए पनि किट २४ मात्रै भएकाले अन्य १७ जना परीक्षण नगरी फर्कन बाध्य भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बुढाले बताए। एक महिनाको अवधिमा आएका उनीहरु सबै होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।

कोरोना परीक्षणका लागि शनिबार किटसहित जिल्ला अस्पतालका चिकित्सक औसरसिंह राठौरसहितको टोली शिवालय पुगेको थियो । जिल्लामै किट नहुँदा थोरै लिएर आएको तर परीक्षण गर्नेको सङ्ख्या धेरै हुँदा फर्काउनुपरेको डा राठौरले बताए । परीक्षण गरिएका २४ सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको डा राठौरले बताए। बाँकीको पुनः किटको व्यवस्था गरेर परीक्षण गरिने गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीको भनाई छ । कर्मचारी र अन्य सर्वसाधारणले पनि परीक्षण गर्नुपर्ने भएकाले कम्तीमा शिवालय गाउँपालिकामा मात्र एक हजार किटको आवश्यकता पर्ने शाहीको भनाइ छ ।

जाजरकोटमा हालसम्म गरिएको कोरोनाको द्रुत परीक्षणबाट २९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । छ पालिकामा कोरोनाको द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । शिवालयमा २४, भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५, नलगाड नगरपालिकामा ४३ र छेडागाड नगरपालिकामा २४ जनाको द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

एक महिनायता भारत र अन्य मुलकबाट आएकाहरुको परीक्षण गरिएको हो । अन्यको भने किट अभावमा हुनसकेको छैन । सरकारले जाजरकोट जिल्लाका लागि ३०० आरडिटी किट मात्र पठाएको हो । पाँच सय जति विदेशबाट मात्र आएका छन् । विदेशबाट आएका र शङ्कास्पदको समेत परीक्षण गर्न सकिएको छैन । लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरुको भने किट अभावले परीक्षण गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot