Logo

खाद्यान्न अभावले राउटे जङ्गलबाट फर्किए



काठमाडौँ, ८ वैशाख । सुदूरपश्चिममा प्रदेश सरकारले स्थापना गरेको कोराना भाइरस उपचार तथा नियन्त्रण कोषमा झन्डै एक करोड ५० लाख रुपियाँ थप जम्मा भएको छ । विभिन्न बैङ्क, प्रदेशसभा सदस्यलगायत संस्था र व्यक्तिहरूले सो कोषमा सहयोग रकम जम्मा गरिरहेका छन् ।

प्रदेश सरकार आफैँले ४० करोड रुपियाँ राखेर कोष स्थापना गरेको थियो । यसैबीच विगतमा समेत जङ्गलमै बसेर जीविकोपार्जन गर्ने लोपोन्मुख राजी समुदाय जङ्गलमा खाद्यान्न अभाव भएपछि पुनः आसपासका गाउँमा फर्किएका छन् । उनीहरूलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराउने भएको छ । डडेल्धुरा समाचारदाताका अनुसार कन्दमूल खाएर छाक टार्न सहज हुने भन्दै एक साताअघि जङ्गल पसेका डडेल्धुरा परशुराम नगरपालिका–१२ आमपानीका १२ घरधुरीका राउटे परिवार राहत पाउने भएपछि गाउँ फर्किएका हुन् । ‘लकडाउनका कारण छाक टार्न समस्या भएपछि तरुल र गिठ्ठा खाएर पेट पाल्न गाउँ छाडेर करिब डेढ घण्टाको दूरीमा रहेको राष्ट्रिय जङ्गलमा आएका थियौँ,’ चन्द्रसिंह राउटेले भने, ‘अब नगरपालिकाले राहत दिने भनेपछि शनिबार घर फर्किएका छौँ ।’ बन्दका कारण गाउँमा मजदुरी गर्न नपाउँदा बाँच्न गाह्रो परेको अनिता राउटेले बताएका छन् ।

परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले जङ्गल पसेका राउटेलाई घर फिर्ता गरेर राहतसमेत उपलब्ध गराएको बताएका छन् । नगरप्रमुख साउदले भने, ‘राउटेले खाद्यान्न अभावका कारण जङ्गल पस्नुपर्ने अवस्था रहँदैन । उनीहरूले गाई, बाख्राका गोठ तथा खोर निर्माणको निहुँमा चुरेक्षेत्रको वन फँडानी गर्दै दर्जन बढी टहरा बनाएका थिए । ती टहरा सबडिभिजन वन कार्यालय जोगबुडा, डङ्सेरा सामुदायिक वनलगायतको टोलीले जलाएको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख सरिता लामाले बताएका छन् ।

क्वारेन्टाइनमा आएनन्

बैतडी समाचारदाताका अनुसार बैतडीमा भारतलगायतका विभिन्न देशबाट आएका चार हजार २९७ जना क्वारेन्टाइन नआएको बताइएको छ । उनीहरूको अहिलेसम्म स्वास्थ्य परीक्षण पनि हुन सकेको छैन ।

चैत महिनाभरि बैतडीका १० वटा स्थानीय तहमा चार हजार ८२२ जना भित्रिएको जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये क्वारेन्टाइनमा बसेका ५२५ जनाको मात्र स्वास्थ्य परीक्षण भएको छ । चैत महिनामा विदेशबाट आउनेको सङ्ख्या दशरथ चन्द नगरपालिकामा ५३१, पुरचौडी नगरपालिका ३४३, मेलौली नगरपालिका ४४९, पाटन नगरपालिका ४८२, सुर्नया गाउँपालिका ४०५, डिलासैनी गाउँपालिका २५६, दोगडाकेदार गाउँपालिका ४०१, पञ्चेश्वर गाउँपालिका ८९५, सिगास गाउँपालिका १३९ र शिवनाथ गाउँपालिकामा ९१२ जना रहेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot