Logo

‘कोरोनाविरुद्ध सबै अस्त्र प्रयोग’



काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नबनोस् भनेर उपचारको राम्रो प्रबन्धमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् ।

कोरोना नियन्त्रणमा नागरिकको साथसहयोगको प्रशंसा गदै उनले भने– “कोरोना नियन्त्रण, रोकथाम र उपचारमा सफलपूर्वक अगाडि बढिरहेका छौँ । कोरोनाविरुद्ध हामीले सबै अस्त्र प्रयोग गरेका छौँ । हामी नियन्त्रण गर्छौं ।” उनले मानवीय मूल्यलाई पहिलो प्राथमिकता दिनुपर्ने चर्चा गर्नुहुँदै मानिस बच्यौँ भने मात्र अर्थतन्त्र काम लाग्छ । त्यसैले जीवनरक्षा पहिलो प्राथमिकता हो । अर्थतन्त्रमा धक्का लागे अर्को वर्ष उठाउन सकिन्छ । लकडाउन जनताको जीवन रक्षाका लागि गरिएको प्रस्ट पारेका छन् । उनले लकडाउनमा असुविधा हुन सक्छ तर यो रहरको विषय होइन । लकडाउन एउटा प्रभावकारी विधि हो, समुदायमा फैलिन नदिन । त्यसैले यसलाई आर्थिक क्षेत्रमा पर्ने असरसँग मात्र जोड्नुहुँदैन भनेका छन् ।

प्रधानमन्त्री ओलीले गोरखापत्र दैनिकसहित राज्यको स्वामित्वमा रहेका सञ्चार माध्यमसँग विशेष कुराकानीका क्रममा विदेशबाट कोरोना सङ्क्रमित भएर आएकाबाट समुदायमा सर्न नदिएर सङ्क्रमितको सङ्ख्या कम गर्न सकिएको समेत चर्चा गरेका छन् । उनले विश्वमा कोरोना नियन्त्रण नभएसम्म मुलुकको प्रवेशद्वारप्रति सतर्क रहने बताएका छन् । सीमा क्षेत्रबाट एक जना पनि सङ्क्रमित भित्रिन नदिनेमा सरकार चनाखो रहेको स्पष्ट पादै उनले सुदूरपश्चिमलाई कोरोनाको ‘इपिसेन्टर’ हुन नदिने बताएका छन् । उनले नेपालमा कोरोना नियन्त्रण भएपछि लकडाउन हट्ने वा खुकुलो भए पनि भारतमा सङ्क्रमणको स्थिति नहेरी सीमा खोल्न नसकिनेसमेत स्पष्ट पारेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot