Logo

झन्डै छ सय विद्यालयमा क्वारेन्टाइन



काठमाडौँ, ९ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेर समुदायमा पुग्ने स्थिति भएपछि मुलुकभरका ५९१ वटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ । विद्यालयका क्वारेन्टाइनमा हाल कोरोना सङ्क्रमणको आशङ्का गरिएका दुई हजार ६७६ जनालाई राखिएको छ ।

विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधारसमेत हुने भएकाले विद्यालयमा क्वारेन्टाइन बन्ने क्रम बढेको जानकारी शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दिएको छ । केन्द्रका अनुसार प्रदेश १ मा दुईवटा विद्यालयमा पाँच, प्रदेश २ को एक सयवटा विद्यालयमा ३७९, बाग्मती प्रदेश १८ वटा विद्यालयमा १९ तथा गण्डकीमा १० वटा विद्यालयमा ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

यसैगरी प्रदेश ५ मा ६८ वटा विद्यालयमा २१, कर्णाली प्रदेशका २०१ वटा विद्यालयमा ५६३ तथा सुदूरपश्चिम प्रदेशमा १९२ वटा विद्यालयमा एक हजार ६४८ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा धेरै मानिस विद्यालयको क्वारेन्टाइनमा रहेको केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot