काठमाण्डौ । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो । अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् । आजै उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएको ९ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । यसैबीच कैलालीका अर्का कोरोना संक्रमित युवा उपचारपछि निको भएर घर फिर्ता भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या ५ पुगेको छ ।