Logo

स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता



काठमाडौँ, १० वैशाख । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाले चीन सरकारसँग सम्झौता गरेको छ ।

‘जीटुजी’ प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न करिब सवा दुई अर्ब रुपियाँ ९एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर०को सम्झौता गरिएको हो । चीन सरकारको स्वामित्वमा रहेको चाइना सिनोफर्म कम्पनीबाट स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । सम्झौताअनुसार चीनबाट ३४२ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । आइतबारै सो सम्झौता सम्पन्न भए पनि मङ्गलबार नेपाली सेनाले सो जानकारी दिएको हो ।

नेपालले सम्झौता अनुसारको रकम राष्ट्र बैङ्कको स्वीकृति लिएर भुक्तानी गरिसकेको छ । सम्झौतामा नेपालका तर्फबाट नेपाली सेनाका सम्भार रथी प्रभुराम शर्मा र चीनका तर्फबाट वाणिज्य मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । चीनसँग कोरोना उपचारसम्बन्धी स्वास्थ्य सामग्री खरिद गर्ने सूचीमा नेपाल ८१औँ मुुलुक हो ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक औषधि, उपकरण लगायतका स्वास्थ्य सामग्री खरिदबारे जानकारी दिन नेपाली सेनाद्वारा मङ्गलबार आयोजित भिडियो संवादमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री खरिदका लागि चीनसँग गरिएको उक्त सम्झौताबारे जानकारी दिएका छन् । चीनसँग ६७ प्रकारका स्वास्थ्य सामग्रीका लागि यो सम्झौता भएको हो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot