काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारबाट २३ टन अत्यावश्यक औषधी सयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । प्रत्युत्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-नेपाल सम्बन्ध विशेष भएको बताएका छन् ।
आज भारत सरकारका तर्फबाट कोभिड १९ विरुद्धको लडाईंका लागि भन्दै औषधी सहयोग हस्तान्तरण भएपछि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत् धन्यवाद व्यक्त गरेका थिए । जवाफमा मोदीले दुई देशको सम्बन्ध बलियो मात्र नभई निकै गहिरो रहेको उल्लेख गरेका छन् ।
मोदीले भनेका छन्, ‘भारत-नेपाल सम्बन्ध विशेष हो । हाम्रो सम्बन्ध बलियो मात्र छैन निकै गहिरो छ ।’ उनले भारत नेपाली जनता र नेपाल सरकारको कोभिड १९ महामारीविरुद्धको लडाईंमा ऐक्यवद्ध भएको उल्लेख गरेका छन् ।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले २ चैत्रमा भिडियो कन्फरेन्समार्फत् सार्क राष्ट्रहरुको कोष बनाएर कोभिड १९ विरुद्ध संयुक्त रुपमा लड्ने प्रस्ताव गरेका थिए । उनले कोभिड १९ विरुद्ध लड्न सार्क कोभिड १९ आपतकालिन कोषमा १ करोड डलर प्रदान गर्ने बाचा गरेका थिए ।