Logo

अख्तियारको आयुक्त बन्ने लोभमा सर्वेन्द्रबाट घिनलाग्दो काम, सांसद अपहरणमा संलग्न !



काठमाडौं, ११ बैशाख । आज लोकतन्त्र दिवस । तर, नेपालको राजनीतिमा लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा यसको गरिमामा आँच आउने खालका फोहोरी खेल भएका घट्नाक्रम एकपछि अर्कोगरि उजागर भएका छन् । फोहोरी खेलको रहस्यमयी सुरुवात प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सुरु भएको तथ्य सार्वजनिक भएको छ ।

लोकतान्त्रिक गणतन्त्र भएको मुलुकमा जनताबाट निर्वाचित सांसदनै प्रधानमन्त्रीको शक्तिको बलमा सांसद तथा पूर्वमन्त्री र सुरक्षा निकायको प्रमुख भैसकेको व्यक्तिको सहयोगमा अपहरण गरेर कुनै अर्को दल फुटाउने घिनलाग्दो प्रयास असफल भएपछि यी सबै घट्ना उजागर भएका हुन् । कुरो हो– उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरण प्रकरण । यो कुरा स्वयम समाजवादी पार्टीका प्रचारप्रसार विभागका उपसंयोजक विश्वदिप पाण्डेले खुलासा गरेका थिए । उनले सरकारको शक्तिको बलमा आफ्नो पार्टीका सांसद यादवलाई जनकपुरबाट अपहरण गरिएको भनेर ट्विट गरेका थिए ।

उक्त समाचार भुसको आगोजस्तो सल्कियो । यो समाचार बाहिर आउँदै गर्दा समाजवादी पार्टी र राजपा नेपालबीच एकताको लागि अन्तिम गृहकार्य जारी थियो । केही दिन अघिमात्रै सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धीको अध्यादेशका कारण समाजवादी पार्टी फुट्न लागेपछि दुई पार्टी एकताको लागि तयार भएका थिए । एकताको लागि राजपाभन्दापनि समाजवादी पार्टीलाई हतारो थियो । किनकी एकताको लागि एक दिनमात्रै ढिला गर्दापनि पार्टीलाई फुटबाट जोगाउन नसकिने समाजवादाी पार्टीको नेतृत्वको निश्कर्ष थियो । त्यही भएर उनीहरु एकताको लागि तयार भए । नभन्दै एकता पनि हिजो मध्यरातमा सम्पन्न भयो ।

अध्यादेशअनुसार दल विभाजनको लागि संसदीय दल वा केन्द्रिय कमिटीमध्ये एकमा ४० प्रतिशत संख्या भए पुग्ने प्रावधान राखिएको छ । यसअघि दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने थियो । सरकारले अध्यादेश ल्याउनेबित्तिकै सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै यसको विरोध तथा चर्को आलोचना भएको थियो । तर, प्रधानमन्त्री ओलीले यो अध्यादेश आफ्नो पार्टीको लागि नल्याईएको पटक-पटक स्पष्टीकरण दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने समाजवादी पार्टी फुटाउनकैलागि आफ्नो नजिकका नेता तथा सांसद महेश बस्नेत र अर्का सांसद किशान श्रेष्ठलाई प्रयोग गरेर धनुषामा रहेका सांसद डाक्टर सुरेन्द्र यादवलाई काठमाडौं झिकाएको समाचार बाहिरिए । यसमा सत्यता रहेको कुरा स्वयम यादवले पनि दुई जना सांसद बस्नेत र श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालपनि गएको मिडियामा सार्वजनिक गरिसकेका छन् । समाजवादी पार्टीले आफ्नो सांसदलाई अपहरण गरेर काठमाडौं ल्याईएको दाबी गरेपनि यादवले भने आफू अपहरणमा परेको कुरा सार्वजनिक रुपमा स्विकार गरिसकेका छैनन् । तर, उनले आफूलाई लिन तीन जना पुगेको भने प्रष्ट पारिसकेका छन् ।

यादव लिन जनकपुर पुगेका सांसदद्धय बस्नेत र श्रेष्ठ त राजनीतिक व्यक्ति हुन् । प्रधानमन्त्री ओलीले निर्देशन दिएर गए होलान् । तर, नेपाल प्रहरीजस्तो संगठनको नेतृत्व गरिसकेका सर्वेन्द्र खनाल चाहीँ किन गए ? यो रहसस्यको विषय बनेको छ । प्रहरी संगठनमा हुँदा राम्रो छबि बनाएका खनाल जागिरको उत्तरार्धमा भने विवादित बनेका थिए । तर, जे भएपनि उनी नेपालका सेलिब्रेटी प्रहरी अफिसरका रुपमा परिचित छन् । खनालजस्तो व्यक्तिको नाम सांसद अपहरण प्रकरणमा मुछिनु अनौठो मानिएको छ ।

तर, लाभको पद हाँसिल गर्न खनालले प्रधानमन्त्री ओलीलाई सघाएको हुनसक्नेपनि लख काट्न थालिएको छ । स्रोतकाअनुसार पछिल्लो समय उनले संवैधानिक नियुक्तीको लागि आफूलाई सक्रिय बनाएका थिए । उनको रोजाई अख्तियार दुरुपयोग अनुशन्धान आयोगको आयुक्त थियो । त्यसकै लागि उनले पार्टी फुटाउनेगरि प्रधानमन्त्री ओलीबाट चालिएको फोहोरी खेलमा आफूलाई संलग्न गराएर नामसमेत बद्नाम गराए ।

एक अनलाईनसँगको अन्तर्वार्तामा समेत खनालले आफू यादवको घरमा गएको र हिजो मध्यरातमा काठमाडौंको मेरिएट होटलमा ल्याएर छोडेको समेत स्विकार गरेका छन् । आखिर खनालले सांसद यादवलाई अपहरण गरे या गरेनन् यो कुरा स्वयम यादव वा खनालले जान्ने कुरा हो । तर, खनालजस्तो गैरराजनीतिक व्यक्तित्व किन यस्तो राजनीतिक त्यो पनि दल फुटाउने खेलमा सामेल भए होलान् ? यसले पक्कैपनि प्रश्न चाहीँ उब्जाएको छ । समाजवादी पार्टीकै संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाईलाई आधार मान्ने हो पनि खनालको संलग्नता संवैधानिक आयोगमा नियुक्तीको आश्वासन नै भएको बुझिएको छ ।

भट्टराईले यसबारेमा ट्विटरमा लेखेका छन्,”यही हो लोकतन्त्र दिवसको उपहार,कणहरू?सरकारको आलोचना गर्ने पूर्सचिव @upadhyayabhim गिरफ्तार!अनि शान्तिसुरक्षा कायमगर्ने र अपहरण गर्नेलाई पक्रने तालिम पाएका एक x-IGP लाई समाजवादी सांसदलाई अपहरण गर्ने जिम्मा र संवैधानिक आयोगमा नियुक्तिको आश्वासन!”

त्यतिमात्रै होईन, नेता भट्टराईले खनालले हो, म जनकपुर गएर ल्याएको हुँ भनेर पहिलोपोष्टलाई दिएको समाचार रिट्विट गर्दै कमेन्टमा लेखेका छन्,”देशको पूर्व सुरक्षा प्रमुखले यति गम्भीर कुरामा यस्तो नकच्चरो र काइते तर्क गर्न मिल्छ?अपराध अनुसन्धानका ज्ञाता पूर्व आईजीपीले बताइदिनुपर्यो-कुन चोरले शुरूमै आफुले चोरेको स्वीकार गर्छ?यिनले कुन हैसियतमा र कस्को आदेशमा यस्तो हर्कत गर्न तम्से?यसको निष्पक्ष छानवीन र कार्वाही हुनुपर्छ!”

यता, खनालले अनलाईनखबरसँगको कुराकानीमा आफू विगतमा प्रहरी भए पनि अहिले सामान्य नागरिक भएको बताउँदै भने, ‘मैले हिँजो पुलिस भएर काम गरेँ । अहिले नागरिक भएर गरिरहेको छु । कुरा गर्नै नहुने, साथी भाइ नै नहुने भन्ने त होइन नि १’ चर्चा गरिएजस्तो ‘अपहरण’ नभई आफ्नै ईच्छामा डा। यादव काठमाडौंसम्म आएको खनालको दाबी छ ।

FILE PHOTO/REPORTERSNEPAL.COM

Related News:

समाजवादी पार्टी फुटाउने असफल प्रयासमा पर्दाका यी खेलाडीको भूमिका खुल्यो

डा. सुरेन्द्र यादव ‘अपहरण काण्ड’मा पूर्व आइजी सर्बेन्द्र खनालकाे नाम किन जाेडियाे ?



प्रतिक्रिया दिनुहोस्