Logo

साउदी अरेबियामा रहेका श्रमिकलाई सम्पर्कमा रहन आग्रह



काठमाडौँ, १२ वैशाख । साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।

नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको हो । श्रमिकले भने त्यहाँको नेपाली दूतावासको फोन रिसिभ नभएको भन्दै गुनासो गदै आएका छन् । विगत चार वर्षदेखि साउदीमा कार्यरत पर्वतको बाच्छा स्थायी घर बताउने विमल पराजुलीले एक महिनादेखि साउदीमा काम नभएर बेखर्ची भई खानबस्नै समस्या भएर दूतावासमा फोन गरे पनि नउठेको गुनासो गरेका छन् ।

गएको एक वर्षदेखि साउदीमा अवैध भएर हार्डवेयर पसलमा काम गरिरहनुभएका उनलाई साहुले कामबाट निकालेसँगै बेखर्ची भएर केही दिनदेखि नेपाली साथीको डेरामा आश्रय लिइरहेको दुःखेसो सुनाएका छन् । गोरखापत्रसँगको सम्पर्कमा उनले भने, दूतावासमा धेरैपटक फोन गरे तर रिसिभ नै भएन, खान बस्नै समस्या भएर अहिले साथीकोमा आश्रय लिइरहेको छु, उहाँको पनि कमाइ छैन, बाँच्नै समस्या भएको छ ।

पराजुलीले साउदीमा आफूजस्तै थुप्रै नेपाली श्रमिक काम नभएर समस्यामा भएको गुनासो गरेका छन् । यता साउदीको दूतावासले भने साउदीमा समस्यामा परेका नेपालीलाई स्रोतसाधनले भ्याएसम्म सहयोग गरिरहेको जानकारी गराएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot