Logo

उत्तर कोरियाली नेता किम जिवितै, चाँडै सार्वजनिक हुने



एजेन्सी, १३ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उन जिवितै रहेको र छिट्टै सार्वजनिक रुपमा देखापर्ने बताइएको छ । उनको अवस्थाबारे शंका उपशंका भइरहँदा छिट्टै सार्वजनिक रुपमा देखापर्ने खबर आएको हो ।

समाचार एजेन्सी रोयटर्सले दक्षिण कोरियाली विश्वस्त स्रोतलाई उदृत गर्दै किम जिवितै रहेको र चाँडै सार्वजनिक हुने उल्लेख गरेको छ । तर, उनको अवस्थाबारे भने उल्लेख गर्न नमानेको जनाइएको छ ।

किमको मुटुको शल्यक्रिया भएको र गम्भीर अवस्थामा रहेको समाचारहरु आएका हुन् । दक्षिण कोरियाले आधिकारिक रुपमा यसबारे प्रष्ट जानकारी नभएको बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि किम गम्भीर अवस्थामा रहेको खबरको खण्डन गरेका छन् । तर, उनले किमको अवस्थाबारे भनेनन् ।

यसैगरी, चीनको एउटा स्वास्थ्य टोली उत्तर कोरिया पुगेको विषयले चर्चा पाएको छ । चिनियाँ उच्च स्तरीय स्वास्थ्य टोली किमलाई स्वास्थ्य सल्लाह दिन पुगेको हुनसक्ने समाचार एजेन्सीहरुले जनाएका छन् । यो विषय निकै संवेदनशील भएको भन्दै चिनियाँ टोलीले केही जानकारी नदिएको जनाइएको छ ।

दक्षिण कोरियाबाट उत्तर कोरियासम्बन्धी जानकारी दिने डेली एन केले गत किमको १२ जुनमा मुटुसम्बन्धी शल्यक्रिया भएको खबर छापेको थियो । उत्तर कोरियाली स्रोत उदृत गर्दै उसले समाचार छापेपछि किमको स्वास्थ्यबारे शंका उपशंका बढेको थियो । यतिसम्मकी उनको उत्तराधिकारीबारे समेत चर्चा चलेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्