Logo

वैशाखभर लकडाउन निश्चित; कृषि, निर्माणलगायतका क्षेत्रमा छुट दिइने



काठमाडौं, १३ वैशाख । सरकारले लकडाउन वैशाखभर गर्ने तयारी गरेको छ । यसको लागि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक बसी मोडालिटीको मस्यौदाबारे छलफल गरी मुख्यसचिवलाई अन्तिम रुप दिने जिम्मेवारी दिएको हो ।

उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा आज बसेको बैठकमा लकडाउन लम्ब्याउने निष्कर्ष गरेपनि भोलि बस्ने मन्त्रिपरिषदबाट मोडालिटीसहित पारित गर्ने तय भएको हो । वैशाखभर लकडाउन गर्ने गरी मोडालिटी समेत बनाएर मन्त्रिपरिषदमा प्रस्ताव लगिने बुझिएको छ । स्रोतका अनुसार कतिपय अत्यावश्यक सेवा सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाइने तयारी भएको छ ।

विभिन्न जिल्ला, गाउँपालिका र नगरपालिकाको क्षेत्र छुट्याएर लकडाउनमा कडाई र खुकुलो पारिने बुझिएको छ । यसका लागि प्रदेश र जिल्ला प्रशासन कार्यालयलाई विशेष जिम्मेवारी दिइने तयारी गरिएको छ । अत्यावश्यक र जरुरी सेवाहरु संचालन गर्न दिने तयारी भएको छ । स्वास्थ्य सेवा, निर्माण सेवा, कृषि क्षेत्र, अत्यावश्यक सामाग्री उत्पादनका उद्दोगहरुलाई भौतिक दुरी कायम गरी संचालन गर्न दिने तयारी भएको हो । ढुवानीका सामान अहिले पनि ओसारपसार गर्न छुट छ ।

आन्तरिक र बाह्य उडान २ जेठसम्म संचालन गर्न प्रतिबन्ध लगाउने निर्णय भइसकेको छ । सार्वजनिक यातायात पनि वैशाखभर चल्न प्रतिबन्ध लगाइने बुझिएको छ । अत्यावश्यक सेवाका पसलहरु सामाजिक दुरी कायम गरी खोल्न दिने तयारी समेत भएको छ ।

सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि शैक्षिक संस्थाहरु वैशाखभर नखुल्ने भएको छ । शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थललगायत आउँदो एक महिनासम्म खुल्ने सम्भावना न्युन छ । एसईई र विभिन्न विश्वविद्यालयका परीक्षाहरु कम्तिमा एक महिना पछाडि धकेलिने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot