काठमाडौं, बैशाख १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नैतिकता विर्सेर जिम्मेवारी सम्हाली रहेको आरोप लगाएका छन् । देश र जनहित विपरित कार्य गर्दे आएको प्रधानमन्त्री ओली अझै प्रधानमन्त्री जस्तो गरिमा र महत्वपूर्ण जिम्मेवारीको पदमा बस्ने नैतिक आधार नभएको उनको भनाई छ । ओलीलाई कुनै कोणबाट पनि प्रधामन्त्रीका रुपमा अब जनताले स्वीकार्न नसक्ने समेत अध्यक्ष लोहनीको दाबी छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासंग कुरागर्दै अध्यक्ष लोहनीले नेकपालाई स्थिर शासन, आर्थिक समृद्धी र सुशासन जस्ता विषयमा काम गर्न जनताले स्पस्ट बहुमत दिएको भएपनि प्रधानमन्त्रीका कारण उसले त्यो नैतिकताको धरातल गुमाएको बताएका हुन्। बहुमत छ भन्दैमा कसैलाई कूशासन चलाउने अधिकार नभएको र शासन चलाउने नैतिकता प्रधानमन्त्रीले गुमाई सकेको दावी समेत उनको रहेको छ ।
लोहनीले नेकपाले यो समयमा व्यक्ति बचाउने कि पार्टी र देश बचाउने भन्ने विषयमा गहन छलफल गर्न सुझाव दिदै शासन चलाउनेको निति र नैतिकता हुनुपर्ने उनले बताए । उनले प्रधानमन्त्री ओलीबाट राजनीतिक विकृती आएको भन्दै ओली कुनै निति र नियमममा बस्ने व्यक्ति नभई अहम र घमण्ड देखाउने मात्र भएकाले पार्टीले सोच्नुपर्ने बेला आएको समेत जानकारी दिएका छन् ।
‘सांसद अपहरण, यति र यम्नी जस्ता विषयमा उच्च स्तरिय कमिसन गठन गरि प्रधानमन्त्रीलाई उभ्याउनुपर्छ ।लोहनीले भने ‘सफाई पाए बस्नु ठिक छ नत्र उहाँले राजीनामा दिनु उपयुक्त हुन्छ ।’
देशमा महामारीको अवस्था छ । देशको अर्थतन्त्र कहा पुग्ने हो भन्ने विषयमा सोच्नुपर्ने बेलामा प्रधानमन्त्री दल फुटाउन र व्यक्ति अपहरण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ भन्दै उनले नेपालको अहिलेको समसया हल गर्न सक्ने हिम्मत समेत नरहेको प्रधानमन्त्रीलाई आरोप लगाएका छन् । ‘मेरो नम्र निवेदन छ प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । राजनीतिको नाममा घटिया काम भएको छ ।’ लोहनीले बताए ।