महामारीको बेला देखा पर्ने सम्पूर्ण समस्याबाट यतिखेर पुराण र कुरानसँगसँगै सुन्ने भुल्केवासी पीडित छन् । पुरै गाउँ शिल छ । कसैलाई पनि गाउँबाट बाहिर निस्कन र आउन सुरक्षाकर्मीहरुले दिएका छैनन् । गाउँका संक्रमित २८ जना व्यक्तिहरु उपचारको क्रममा विराटनगरमा छन् ।
संक्रमित विरामीको विशेष हेरचाह भएपनि गाउँलेहरु भने विभिन्न समस्याहरुबाट जेलिएका छन् । २०३६ सालदेखि नैं हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरु सद्भाव र सहिष्णुताका साथ भुल्केमा बस्तै आएका छन् । मुस्लिमहरुको एक मस्जिदसहित ५७ घर छ भने हिन्दूहरुको २४३ घर छन् । र जम्मा जम्मी १५ सय जनाको संख्या छ । यस्तो बाक्लो वस्ती भएको भुल्केमा करेसा जोडिएको घरमा कुरान पढ्ने घरका छिमेकीे संक्रमित भएपछि पुराण पढ्नेहरुलाई पनि समस्या परेको छ । त्यो समस्या भनेको खाद्यान्नलगायतका सामग्रीहरुको हो । यसबेला न त आफन्तहरु आउन सक्छन, न त उनीहरु नैं बाहिर जान सक्छन । बोलचाल बन्द जस्तै छ ।
कुरान र पुराण पढ्नेका आफन्तहरु टाढिएका छन् । उनीहरुको बोली बिक्दैन्, पैसा बिक्दैन । सबै बिरानो जस्ता भएका छन् । साँचो अर्थमा यतिखेर कोरोनाले सबैलाई अछुत बनाइ दिएको छ । पुराण पढ्ने हुन वा कुरान पढ्ने । अहिले अछुत बनेको गाउँ हो उदयपुरको त्रियुगा नगरपालिका ३ को भुल्के गाउँ ।
कुरान पढ्नेहरुको मात्रै पीसिआर प्रणालीबाट स्वाब टेस्ट भए पनि गाउँका अन्य करिब एक हजार जनाको पुराण पढ्नेहरुमा चिन्ता थपिएको छ । छिमेकी घरका व्यक्ति संक्रमित भएको देखेपछि डर पस्नु स्वाभाविकै पनि हो । यस्तो बेला स्वाव टेस्टको घेरालाई ट्रयाकिङ र ट्रेसिङ गर्दै वृद्धि गर्ने योजना बनाइएको छ । संघीय सरकारका तर्फबाट नेपाली सेनाको पूर्वी पृतना र १८ नम्वर वाहिनी प्रदेश सरकारको मातहतमा रहेको जिल्ला अस्पताल र त्रियुगा नगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोली खटिने भएको छ । यसले गर्दा भुल्केवासी मात्र नभएर सम्पूर्ण उदयपुरवासीमा उत्साहको सञ्चार भएको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईले कुनै पनि हालतमा स्वास्थ्य सामग्री र उपचारको कमी हुन नदिने प्रतिवद्धता गरेका छन् ।-जनआस्थाबाट