Logo

श्रीपेच फर्काउँदाका सास्ती



जम्मा एकथान श्रीपेचको कुरा । तर, त्यसैमा मारामार । २०६५ सालको जेठ १५ गते, मध्यरात संसदले गणतन्त्र घोषणा ग¥यो, राजसंस्था स्वतः विघटित भयो । घोषणा त भयो, तर कार्यान्वयन जटिल थियो । यहाँ त्यही जटिलताको चर्चा गर्न लागिएको हो ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यो कामको सहजीकरण गर्न तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई जिम्मा दिनुभयो । र, राजा ज्ञानेन्द्रका तर्फबाट उहाँका प्रमुख निजी सचिव पशुपतिभक्त महर्जन तोकिए । तर, यति पहलमात्र पर्याप्त थिएन । त्यसपछि मन्त्रिपरिषद्को बैठकले नारायणहिटीको सम्पत्ति सरकारको नाममा ल्याउन सामान्य प्रशासन सचिव डा.गोविन्द्रप्रसाद कुसुमको अध्यक्षतामा एउटा समिति बनायो । समितिमा गृहमन्त्रालयका सहसचिव प्रतापकुमार पाठक, पुरातत्व विभागका महानिर्देशक कोषहरि आचार्यसहित शिक्षा र अर्थ मन्त्रालयका सहसचिवहरु पनि थिए ।

अहिले परराष्ट्र मन्त्रालयको राहदानी विभाग रहेको नारायणहिटी परिसरभित्र त्यसको कार्यालय खडा भयो । र, एक महिनामै काम सकियो । काम सक्नका लागि त्यति ठूला बाधाहरु खासै आएनन्, श्रीपेचबाहेकका । ‘दरबारको वास्तविक श्रीपेच लुकाइयो,बिदेश पु¥याइयो’ जस्ता हल्लाले बजार निक्कै गर्माएको थियो । ठूलै हल्ला चलेपछि डा.कुसुमको समितिले पूर्वराजा ज्ञानेन्द्रलाई तीनचोटि चिठ्ठी लेख्यो । तर, जवाफ आएन ।

यसपछि डा.कुसुम गए, प्रम गिरिजालाई भेट्न । उहाँले उपाय बताउनुभयो, ‘ज्ञानेन्द्रसँगै सोध्ने नि ।’

तत्कालिन गृहसचिव उमेश मैनालीसहित डा.कुसुम पुगे, ज्ञानेन्द्रलाई भेट्न । सबै कुरा सुनेपछि ज्ञानेन्द्रले भन्नुभयो, ‘जे–जे चाहिन्छ लानुस्, म मेरा सचिवहरुलाई भनिदिन्छु ।’ र, बोलाएर भन्नु पनि भयो ।

यो कामको सहजताका लागि तोकिएका गृहमन्त्री कृुष्ण सिटौलासँग ज्ञानेन्द्रले भन्नुभएको थियो, ‘नेपाल सरकार र संसदले गरेको निर्णय मान्छु  तर मलाई दुई–चार दिन समय दिनुस् ।’

ज्ञानेन्द्रको चाहना थियो, आफ्ना पुर्खाको नासोका रुपमा रहेको श्रीपेच लिएर जाने । सिटौलाले भने, ‘यो व्यक्तिको भन्दा पनि राष्ट्रको सम्पत्ति हो । त्यसैले सरकारले यसलाई हिफाजतका साथ राख्छ । यसमा ढुक्क हुनुस् ।’

ज्ञानेन्द्रले नारायणहिटी छोडेर हिँडेको भोलिपल्ट श्रीपेच, राजदण्डसहितका सामान सक्कली हुन् या नक्कली भन्ने कुरा जाँच गराइयो, सुनचाँदी व्यवसायी संघका पदाधिकारीलाई बोलाएर । उनीहरुले सबै सामान सक्कली भनी प्रमाणित गरेपछि वाटर र फायर प्रुफ बाकसमा सिल गरेर राखियो ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot