Logo

पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा



भोजपुर, ६ कार्तिक । भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । पुस्तान्तरण हुन नसक्दा परम्परागत पेसा सङ्कटमा पर्न थालेको हो ।

गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट स–साना आकारका गोलियालाई कुदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । यसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ । 

खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पङ्खामा खसाई  काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक) को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ । यसको अलवा हातले यन्त्र गुमाएर पनि काठका सामग्री बनाउने चलन रहेको छ । चुँदाराहरुले कलात्मकरुपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाँडो, गम्बुलगायत विभिन्न सामग्री बनाउदै आएका छन् ।

चिसो, खोला खोल्सीमा बसेर काम गर्नुपर्ने तथा धेरै मेहनत गर्नुपर्ने भएकाले नयाँपुस्ताको रोजाइमा नपरेको हो । ठेकी कुदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने भएकाले पछिल्लो समयमा पेसाप्रति लाग्ने मान्छेको सङ्ख्या घट्दै गएको हो । 

 विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि पछिल्लो समयमा सङ्ख्यासमेत घटेको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराहरुको भनाइ छ । दूध जमाउने ठेकीबाहेक मोही पार्नै ठेकी, कोसी, आरी खुर्पेटा कुदेर चुँदाराले आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादनलगायतका औजारको प्रयोग हुने गर्दछ । 

काम गर्ने प्रविधिले आधुनिकता नपाउदा श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या हुने चुँदाराहरुको भनाइ छ ।  धेरै मेहनतले खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिकोपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको लामो समयबाट चुँदारा पेसा गर्दै आएका टेम्केमैयुुङका रत्नबहादुर विश्वकर्माले बताए । 

“पुस्तान्तरण हुन नसक्दा पुख्र्यौली पेसा सङ्कटमा परेको छ”, उनले भने, “नयाँ पुस्ताले यो काम गर्न चाहदैन् । यसलाई नयाँ पुस्तासम्म पु¥याउन संरक्षण गर्न आवश्यक छ ।”

काठको सामग्री बनाउनका लागि दार, पँयले, लोठसल्ला, मौवा, कटहर लगायत रुखको काठ उपयोगी हुने विश्वकर्माले बताए । तर पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको उनले बताए । 

आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ । मेहनतका आधारमा प्रतिफल नहुने भएकाले नयाँपुस्ताले चासो नदिँदा पेसा लोप हुने अवस्थामा पुगेको उनले बताए । “यो काम गरेर हामीले जीवन गुजरा गर्न सकिएको छैन”, उनले भने, “काम गर्न झन्झट हुने भएकाले धेरैले यो पेसा नै गर्न छाडे । नयाँ पुस्ताले चासो दिदैन् । पेसा जोगाउन नै समस्या छ । राज्यले यसलाई संरक्षणमा भूमिका खेल्न आवश्यक छ ।”

हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउनसके काम गर्न सहज हुने चुँदाराको काम गर्दै आएका स्थानीय जङ्गबहादुर विकले बताए । “परम्परागतरुपमा काम गरिरहेका छौँ”, उनले भने, “बाउबाजेले जसरी गरे हामीले पनि त्यही विधिअनुसारको काम गर्दै आएका छौँ ।”

पेसालाई जोगाउन नयाँपुस्तालाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ । तालिमको व्यवस्था गरेर सीपलाई सबैमा विस्तार गर्नुपर्ने विश्वकर्माले बताए । “यो सीपलाई विस्तार गर्न आवश्यक छ”, उनले भने, “विस्तार गर्न सकिएन भने यो काम गर्ने मानिस पाउन मुस्किल छ । राज्यकोतर्फबाट जीवन गुजरा गर्न सक्नेसम्मको वातावरण बन्यो भने पेसालाई जोगाउन सकिन्छ ।”

परम्परागतरुपमा गाईभैँसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो समय हट्दै गएको छ । बजारमा स्टिललगायत प्लाष्टिकका सामग्री पाइन थालेपछि काठको ठेकीको प्रयोग हराउँदै गएको देखिन्छ ।

पराम्परागतरुपमा सञ्चालन हुँदै आएका यस्ता पेसाहरुको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने टेम्कैमैयुङ–५ का स्थानीय रामबहादुर विष्टले बताए। गाउँघरमा मात्र हुने पराम्परागत पेसाको संरक्षण गर्न ठोस योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

स्वास्थ्यका लागि पनि काठका भाडा फाइदाजनक हुने स्थानीयवासीको भनाइ छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा विस्तारै हराउन थालेका हुन् । 



प्रतिक्रिया दिनुहोस्