Logo

दुई हजार नेपाली भारतीय क्षेत्रमै अलपत्र



काठमाडौँ, १५ वैशाख । लकडाउनका कारण सुदूरपश्चिमसँग सीमा जोडिएका भारतका विभिन्न स्थानमा अझै झन्डै दुई हजार नेपाली रोकिएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार भारततर्फ अझै २०३ जना नेपाली रोकिएका छन् । उनीहरूलाई नेपाल ल्याउन पहल भइरहेको उनले बताएका छन् । यस्तै बैतडीसँग जोडिएको भारतमा छ सय र दार्चुलापारि भारतको धार्चुलामा एक हजार एक सयभन्दा बढी नेपाली रोकिएका छन् । नेपालीलाई भारतीय पक्षले खाने, बस्ने व्यवस्थासहित क्वारेन्टाइनमा राखेको जनाइएको छ ।

स्वदेश फर्किन अझै एक हप्ता लाग्ने
दार्चुला समाचारदाताका अनुसार रोजगारीका लागि भारत गएकाहरू लकडाउनपछि स्वदेश फर्कन खोज्दा सीमाक्षेत्रमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन अझै एक हप्ताको समय लाग्ने भएको छ । दार्चुला, बैतडी, बझाङलगायतका जिल्लाका एक महिनादेखि धार्चुलास्थित पाँचवटा क्वारेन्टाइनमा रहेका एक हजार एक सय नेपालीलाई स्वदेश फर्काउन भारतीय पक्षबाट अनुमति नपाउँदा ढिलाइ भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताएका छन् ।

नेपाल सरकारले धार्चुलामा रहेका नेपालीको उद्धार गरेर स्वास्थ्य परीक्षणपश्चात् सम्बन्धित जिल्लाको जिम्मा लगाउने कुरामा सहमति जनाए पनि भारतीय पक्षले स्वास्थ्य परीक्षण नगरेरै क्वारेन्टाइनबाट छोड्न नमिल्ने भन्दै एक हप्ता समय मागेको उनले बताएका छन् । महाकालीमा ट्युब, तुइन तर्न पाएका, पौडी खेल्न र जङ्घार तर्न सक्ने झन्डै २५० जना नेपाली अवैध रूपमा दार्चुला भित्रिए पनि महाकाली पार गर्न नसकेका धार्चुलामै कष्टकर दिन बिताइरहेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot