Logo

ओली सरकार जोगाउन राष्ट्रपति भण्डारी सक्रिय, चीनको साथ मागिन्



काठमाडौं, १६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता संघर्ष चरम उत्कर्षमा पुग्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । उनले केही समययता नेकपाका प्रभावशाली नेताहरुसँग छलफल र भेटघाट तिव्र पारिरहेकी छिन् ।

भण्डारीले नेकपाभित्र र बाह्य शक्तिसँग पनि सम्पर्क बढाएर छलफल थालेकी हुन् । उनले हिजोमात्र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेकी छिन् । कुराकानीमा राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे समेत चासो राखेका थिए । सीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेको परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणपछि सामान्य काममा फर्किएकोमा खुशी व्यक्त गरिएको उल्लेख छ ।

दुई देशका राष्ट्रपतिबीचको टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीको विषयमा समेत कुराकानी भएको प्रेस विज्ञप्तिमा राखिनु आफैमा एउटा सन्देश हो । अहिले प्रधानमन्त्री ओलीको सत्ता संकट गरिरिदै जाँदा उनलाई चीनको दरिलो साथ रहेको सन्देश दिन खोजिएको छ । राष्ट्रपति सीले ओलीको स्वास्थ्य राम्रो होस् भनी कामना गर्दै खुशी व्यक्त गरिएको भनिएको छ ।

विश्वस्त स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिसँग राष्ट्रपति भण्डारीले ओली सरकारमाथि देखिएको चुनौतीबारे पनि छलफल गरेकी थिइन् । उनले चीनको साथ र सहयोगको आग्रह गरेको बुझिएको छ । चीनबाट ओलीलाई अझ बलियो साथ मिल्ने आवश्वासन आएको बुझिएको छ ।

यसैगरी, राष्ट्रपति भण्डारीले अन्य शक्तिसँग पनि ओली सरकारका लागि सहयोगको आग्रह गरेको बुझिएको छ । उनको सक्रियताले ओली हौसिएका छन् । ओलीले यसै हप्ता राष्ट्रपति भण्डारीसँग शितलनिवास पुगेर छलफल गर्न थालेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot