Logo

कोरोनाबाट विश्वभर दुई लाख भन्दा बढीको मृत्यु तीस लाखभन्दा बढी संक्रमित



१६ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा सामान्य कमी आएको एएफपीले जनाएको छ । अमेरिकामा संक्रमितको कूल संख्या १० लाख नाघे पनि विभिन्न राज्यमा मानिसहरु लकडाउन र सामाजिक दूरीका नियमहरुको बेवास्ता गर्दै घरबाहिर निस्कन थालेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३८४ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ८०३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २४ हजारको हाराहारीमा पुगेको छ ।

युरोपेली मुलुकहरुमा समेत गएको २४ घण्टामा दुई हजारको हाराहारीमा मात्र कोरोनाका बिरामीको मृत्यु भएको र संक्रमितको संख्यामा तुलनात्मक रुपमा कमी आएको देखिएको भन्दै लकडाउनमा केही खुकुलो पारिएको र कतिपय मुलुकमा विद्यालयहरु खोल्न थालिएको छ ।

कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख २४ हजार ६३७ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५६ हजार २९१ जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ । हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ८० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ९७७ जना, स्पेनमा २३ हजार ५२१ जना, फ्रान्समा २३ हजार २९३, बेलायतमा २१ हजार ९२ जना, बेल्जियममा ७ हजार २०७ जना, जर्मनीमा ६ हजार १२६ जना, नेदरल्यान्ड्समा ४ हजार ५१८ जना, स्वीडेनमा २ हजार २७४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६६५ जना, आयरल्यान्डमा १ हजार १०२, पोर्चुगलमा ९२८ जना तथा रसियामा ८६७ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ८०६ जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार ६०३ जना, टर्कीमा २ हजार ९०० जना, क्यानाडामा २ हजार ७०७ जना, मेक्सिकोमा १ हजार ४३४ जना, भारतमा ९३९, इन्डोनेसियामा ७६५ जना, इक्वेडरमा ६६३ जनाको मृत्यु भएको छ ।रासस Photo Source : Voice of America



प्रतिक्रिया दिनुहोस्

Screenshot