काठमाडौँ, १८ बैशाख । कोरोना महामारी फैलनबाट रोक्नका लागि देशमा लकडाउनको घोषणा हुनेबित्तिकै रोय र इमा हान बच्चाहरुलाई यसबारे जानकारी दिन र उनीहरुलाई सम्हाल्न व्यस्त भए । उनीहरुले घरभित्र नियममा बस्नका लागि बच्चाका लागि एउटा तालिका बनाए र उनीहरुका लागि विभिन्न कार्यक्रमको योजना बनाए ।
डन्डीमा बस्ने हान परिवार स्कटल्याण्डको सबैभन्दा ठूलो परिवार हो । रोय र एमाका १३ सन्तानमध्ये १० जना यसै परिवारमा बस्छन् । उनीहरुको परिवार यति ठूलो छ कि यसबाट निकै सजिलै दुई बास्केटबल समूह बनाउन सकिन्छ । यी दुईको अत्यधिक प्रयास पछि पनि महामारीका क्रममा परिवारका लागि नियम बनाउने उनीहरुको कोसिस आफ्ना सन्तान सामू असफल भइरह्यो । रोय हान नाइवेल्स अस्पतालमा नर्सको रुपमा काम गर्छन् र महामारीको क्रममा उनको आफ्नो ठूलो परिवारलाई संक्रमणको खतराबाट बचाउनु उनको लागि चुनौती थियो । परिवारका लागि नयाँ प्रकारको मुश्किल थियो । यससँग जुध्न सजिलो थिएन । तनाव पहिले देखि नै थियो तर बिहिबार रोय हानमा कोरोनाभाइरस पोजिटिभ देखियो ।
रोय भन्छन्, ‘मलाई संक्रमणको लक्षण देखिन भर्खरै मात्र सुरु भएको छ र लक्षण निकै साधारण छन् । जब मेरो नतिजा पोजेटिभ आयो तब म जिल खाएँ ।’ ‘म कोभिड–१९ का बिरामीसँगको सम्पर्कमा आउँछु तर म प्रोटेक्टिभ इक्विपमेन्ट लगाएर मात्रै उनीहरु भएठाउँ जान्छु । टेसाइड इलाकामा हामी अत्यधिक कोरोना परीक्षण गरिरहेका छौं र अब यो इलाका हटस्पट घोषित भइसकेको छ ।’ ‘काम गर्दै गर्दा ठट्टा गरेर हामी भन्थ्यौं कि सुपरमार्केटबाट कोरोना संक्रमणको खतरा अत्यधिक हुनसक्छ, तर अब म काममा जान पाइरहेको छैन । मलाई नराम्रो लागिरहेको छ ।’ ‘हामी भन्थ्यौं कि हर्ड इम्युनिटीका कारण हामी बच्नेछौं’ हान परिवार हाल १४ दिनका लागि आफ्नो घरमा नै क्वारेन्टाइनमा बसिरहेका छन् । रोयलाई सात दिनका लागि आइसोलेशनमा राखिएको छ ।
५० वर्षका रोयलाई टाइप–टु डायबिटिज छ । यद्यपि, उनले आफ्नो स्वास्थ्य ठिक भएको बताउँछन् । उनलाई आफू चाँडै नै निको हुने आशा छ र आफू एकपटक पुनः कोरोनासँग लड्नका लागि तयार हुने बताएका छन् । उनी भन्छन्, ‘मेरो जीवनमा खासै केही परिवर्तन आएको छैन । मात्र यति कि अब म आफ्नो बच्चाहरुलाई धेरै समय देख्न पाउँछु । मलाई खुसी लागेको छ कि मैले यो समय पाएँ । मेरो आफूमाथिको विश्वास बढिरहेको छ । म काममा फिर्ता हुन सक्नेछु ।’ ‘मेरो परिवारमा यति धेरै सदस्य बस्छौं कि हामी ठट्यौली पारमा भन्दथ्यौं कि हर्ड इम्युनिटी (बथानको रोग प्रतिरोधी क्षमता) का कारण हामी बच्नेछौं ।’
रोय अब पूरा समय घरमा नै बिताइरहेका छन् । जसका कारण उनकी श्रीमती एमाले पनि निकै मद्दत पाएकी छिन् । एमा एक क्याफे चलाउँछिन् जुन अहिले बन्द छ । तर यो समय मुश्किलले भरिएको पनि छ । यी दुईका सन्तान २८ देखि पाँच वर्षसम्मका छन् । एक दिनको खानामा यो परिवारलाई करिब २८ लिटर दुध, २१ वटा पाउरोटी र सिरियलका पाँच प्याकेटको आवश्यकता पर्छ । तर सुपरमार्केटमा सामाजिक दुरीको नियम लागू गरिएको छ र सामान खरिद गर्नमा सीमा तोकिएको छ । यस्तोमा परिवारका लागि खान खरिद गर्नु थप मुश्किल बनेको छ । एमा भन्छिन्, ‘हाम्रो परिवार ठूलो छ र हाम्रा लागि सामाजिक दुरीको नियम पालना गर्नु चुनौतीपूर्ण छ ।’
‘अब हामी पसलमा एक पटकमा एउटा सामानको तीन प्याकेट मात्रै खरिद गर्न सक्छौं । यस्तोमा हामी पटक–पटक पसल धाइरहनुपर्छ र हाम्रो लागि संक्रमणको खतरा पनि थुप्रै गुणा बढिरहेको छ । मेरा लागि यो परिस्थितीसँग जुध्न निकै मुश्किल छ ।’ कोरोनाका कारण एमाको काम हालका लागि बन्द छ र उनको सारा ध्यान आफ्नो बच्चातर्फ केन्द्रीत छ । आमा बनेको उनको २८ वर्षको अनुभवले उनलाई साथ त दिन्छ तर यो मुश्किल समयमा स्थिती उनको नियन्त्रण बाहिर छ र लकडाउनका कारण तनाव पनि बढेको छ । एमा भन्छिन्, ‘जुन दिन रोयको कोरोना परीक्षण पोजेटिभ आएको थियो त्यसको एकदिन अघि म वक गर्न गएकी थिएँ । म भित्तालाई हिर्काएर रुन थालेँ ।’
‘मलाई लाग्यो कि म यो तनाव झेल्न सक्दिनँ । यो निकै मुश्किलले भरिएको समय हो ।’ ‘त्यसको एक दिनपछि मैले आफ्नो परिवारलाई रोयलाई कोरोना पोजेटिभ भएको खबर सुनाउनु पर्यो । यो खबरले सबैलाई चिन्तामा पार्यो । पछिल्ला केही दिनदेखि घरका सबै सदस्यले धेरैभन्दा धेरै मद्दत गर्ने कोसिस गरिरहेका छन् । यो परिवार एकजुट भएर यो महामारीसँग लड्ने कोसिस गरिरहेको छ । बेलुका यो परिवार आफ्नो गार्डनमा बास्केटबल खेल्छन् । बास्केटबल खेल्नु कुनै ठूलो काम होइन तर अब यो परिवारले भिन्न रुपमा यसको महत्व बुझिरहेको छ । एमा भन्छिन्, ‘हाम्रो भाग्य राम्रो छ कि हाम्रो घरमा एउटा गार्डन छ । यदि पाँच बच्चासँग एउटा फ्ल्याटमा बस्नु परेको भए कति मुश्किल हुनथ्यो रु’
‘जब लकडाउन सुरु भयो तब मलाई लाग्यो कि ममाथि जिम्मेवारीको दबाब बढ्नेछ । यो निकै मुश्किलले भरिएको समय हो । तर वास्तविकता यो हो कि जीवन तपाईंले भने जसरी चल्दैन । ’‘मेरो १४ वर्षका छोरा धेरैजसो आफ्नो एक्स–बक्ससँग खेलिरहन्छ । मेरी छोरी बिहान सबेरै ६ बजे उठ्छिन् र घरबाट अफिसको काम गर्छिन् । मलाई सुरुमा त यो मन परेन तर शिफ्टमा खाना बनाउनु सजिलो हुन्छ ।’ ‘कामको तरिकामा परिवर्तन गर्नु राम्रो हो किनभने यहि एउटा कुरा हो जुन हामी गर्न सक्छौं ।’ स्रोतः बीबीसी