एजेन्सी, १८ वैशाख । उत्तर कोरियाली नेता किम जोङ्ग उनको वानसनस्थित निवासको स्याटलाइट तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा रेल रोकिएको छ ।
सीएनएनको रिपोर्ट अनुसार विनसनस्थित निवासको क्षेत्रमा रोकिएको रेल अर्थपूर्ण छ । किम जोङ उन प्रायः निजी विमानमा यात्रा गर्छन् । तर, यसपटक रेल कम्पाउन्डमा राखिनुलाई उनी गम्भीर विरामी परेको र विमानमा यात्रा गर्न नसक्ने अवस्थामा रहेको अनुमान गरिएको छ ।
हुनत उत्तर कोरियाली नेता प्रायः रेलको प्रयोग गर्छन् । रेलमै विदेशको यात्रा गर्ने प्रचलन छ । त्यसैले उनी निवासमै रहेको हुनसक्ने बताइएको छ । तर, उनको अवस्थाबारे अझै अज्ञात छ ।
उत्तर कोरियाली नेताको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलवाजीहरु भइरहेका छन् । उनी जिवितै रहेको पुष्टि भइसकेको छ । उनी सामान्य अवस्थामा रहेको दक्षिण कोरियाले समेत पुष्टि गरिसकेको छ ।
किमले वनसान काल्माको समुन्द्री तटको पर्यटन क्षेत्रमा निर्माण गर्नेहरुलाई आभार प्रकट गरेका छन् । उनले पत्रमार्फत् आभार प्रकट गरेको उत्तर कोरियाली पत्रिकाले सोमबार जनाएको छ । आभार प्रकट गरिएको पत्रको मिति भने उल्लेख नगरिएको रुसी समाचार संस्था तासले जनाएको छ । तर, अझै पनि उनी बाहिर निस्किएका छैनन् ।
११ अप्रिल देखि उत्तर कोरियाली नेता किम सार्वजनिक भएका छैनन् । उनले पार्टी पोलिटब्युरोको बैठक गरेपछि नदेखिनुले गम्भीर विरामी परेको या निधन भइसकेको समाचारहरु आएका थिए । उनले १५ अप्रिलमा हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्तीमा सहभागिता जनाएका थिएनन् । उनको मुटुको शल्यक्रिया भएको विषय पनि बाहिर आएको थियो । चिनियाँ स्वास्थ्य टोली उत्तर कोरियामा उनको उपचारका लागि पुगेको खबर हिजो आएको थियो । यसले विभिन्न शंका उपशंका बढाएको छ ।-Photo Source: Agency